राजनीति

कांग्रेसका डेढ सय बागी कारबाहीमा

काठमाडौं – नेपाली कांग्रेसले २०७४ सालमा सम्पन्न तीन तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उमेदवारी दिएका नेताहरूलाई कारबाही गर्ने निर्णय गरेको छ। केन्द्रीय अनुशासन समितिको मंगलबार बसेको बैठकले २५ जिल्लाका डेढ समयभन्दा बढी नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको हो।

स्थानीय, प्रदेश र संघको निर्वाचनमा बागी उमेदवारी दिएका नेताको प्रस्तावक तथा समर्थकलाई निष्कासन गर्ने निर्णय छ। अनुशासनको कारबाहीमा सबैभन्दा धेरै पर्सा जिल्लाबाट ३२ जना परेका छन् भने कास्की, मोरङ, नवलपरासी, पाँचथर, रसुवा, सखुंवासभाबाट एक÷एक जना छन्। दाङ र रुपन्देही २२/२२, काठमाडौं १५, चितवन १३, बाँके ११, धनुषा १०, ओखलढुंगा ८, झापा ७, लम्जुङ ५, इलाम र पाल्पा ४/४, कपिलवस्तु र सुनसरीमा ३÷३, सिराहा, रौतहट र कैलालीबाट २÷२ जनाको नाम अभिलेखबाट हटाउन समितिले निर्देशन दिएको छ।

‘२०७४ सालमा सम्पन्न स्थानीय तह, प्रदेश सभा एवं संघीय संसद्को निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार बनेका, निजका प्रस्तावक एवं समर्थक तथा अन्य पार्टीमा गई विभिन्न तहमा उम्मेदवारी दिएका, नेता तथा कार्यकर्तालाई पार्टी विधान धारा ३४ को उपधारा ४ (क) बमोजिम कारबाही भएकोले त्यस्ता बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएका सबै तहका नेता तथा कार्यकर्तालाई सम्बन्धित जिल्लाको पार्टीको अभिलेखबाट हटाउन निर्देशन गरेको छ,’ कांग्रेसले जनाएको छ।

बागी, निजका प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाहरुको नामावली हालसम्म केन्द्रीय अनुशासन समितिमा पठाउन बाँकी जिल्लालाई तत्काल नामावली पठाइदिन पनि समितिले निर्देशन दिएको छ।

प्रकाशित: ४ असार २०७६ ०२:१२ बुधबार

बागी_उमेदवारी नेपाली_कांग्रेस निर्वाचन