राजनीति

विधेयक टुंग्याउनुपर्नेमा कांग्रेसले बितण्डा मच्चायोः शर्मा

काठमाडौं– राष्ट्रिय सभामा सत्तारुढ नेकपा  संसदीय दलका नेता दिनानाथ शर्माले सरकारले ल्याएको गुठी विधेयकको बचाउ गरेका छन्। नेता शर्माले सो विधेयकलाई सहमतिमै टुंगो लगाउन पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई आग्रह गरे। उनले सो विधेयक प्रतिनिधिसभा हुँदै सडकमा पु-याएर प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले लोकतन्त्रवादीहरुले मिलेर ल्याएको परिवर्तनकै विरुद्धमा गतिविधि गरिरहेको आरोप पनि लगाए।

मंगलबार राष्ट्रिय सभाको बैठकको सुरुमै विशेष समय लिएर बोल्दै नेता शर्माले लोकतन्त्रवादी शक्तिहरुबीच संवाद गरेर सो विधेयक टुंगो लगाउनुपर्नेमा सडकमा बितण्डा मच्चाउने काम भईरहेको भन्दै काँग्रेसप्रति आक्रोश व्यक्त गरे। उनले राष्ट्रिय सभाको क्षेत्राधिकारभित्र रहेको सो विधेयकमाथि हस्तक्षेप गरेर सडकमा वितण्डा मच्चाउन काम किन गरियो? भन्ने प्रश्न पनि काँग्रेसलाई गरे।

नेता शर्माले संविधानसम्मत ढंगले सो विधेयकमाथि छलफल गर्नुपर्ने बेला त्यसैलाई तल्लो सदनमा उठाउने, सदन अवरुद्ध पार्ने, सडकमा अराकजता मच्चाउने काम लोकतन्त्रवादीहरुका लागि शोभनीय नभएको पनि बताए। उनले काँग्रेसको सो गतिविधि यो व्यवस्था मन नपराउनेहरुलाई साथ दिने गरी आएको उल्लेख गर्दै आपत्ति पनि जनाए। ती शक्तिहरु जस्तो यो व्यवस्था, प्रणालीविरुद्ध, संविधानको विरुद्ध, लोकतान्त्रिक मूल्य मान्यताका विरुद्ध छन, उनीहरुलाई हेक्का राखेर अघि बढन पनि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसलाई नेता शर्माको आग्रह छ। नेता शर्माले काँग्रेसलाई तत्कालीन माओवादीलाई शान्ति प्रक्रियामा ल्याएको भनेर नभन्न समेत सचेत गराए। राजतन्त्रलाई ढाल्ने सर्तमा आफूहरु एक ठाउँमा उभिएको उनको भनाई थियो।

प्रकाशित: ३ असार २०७६ १०:४० मंगलबार

संसदीय_दल दिनानाथ_शर्मा गुठी_विधेयक