राजनीति

प्रधानसेनापति थापा आज चीन जाँदै

काठमाडौं – प्रधानसेनापति पूर्णचन्द्र थापा साताव्यापी चीन भ्रमणका लागि आइतबार त्यसतर्फ लाग्दैछन्। उनी चिनियाँ जनमुक्ति सेनाको निमन्त्रणामा बेइजिङ जान लागेका हुन्। थापा प्रधानसेनापतिमा नियुक्त भएपछि पहिलो पटक चीन जान लागेका हुन्। उनको भ्रमणदलमा श्रीमती दीपा थापा, कार्यरथी उपरथी अनन्त कार्कीसहित आठ जना रहनेछन्।

प्रधानसेनापति थापा एयर चाइनाको फ्लाइटमार्फत काठमाडौंबाट चीनको छेन्दु हुँदै बेइजिङतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। भ्रमणका बेला प्रधानसेनापति थापाले चीनका विभिन्न सैनिक संरचना एवं ऐतिहासिक स्थलहरुको भ्रमणलगायत उच्चस्तरीय पदाधिकारीहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। यस किसिमको उच्च तहको सैनिक नेतृत्वको भ्रमणले नेपाली सेना र चिनियाँ सेनाबीच रहँदै आएको आपसी सौहाद्र्रपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर हुने सेनाले जनाएको छ। प्रधानसेनापति थापासहितको उच्चस्तरीय टोली भ्रमण सम्पन्न गरी असार ७ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ।

प्रकाशित: १ असार २०७६ ०२:२१ आइतबार

प्रधानसेनापति पूर्णचन्द्र_थापा भ्रमण