राजनीति

गगन थापाले गुठी विधेयकले सरकार ढल्छ भनेपछि सञ्चार मन्त्रीकाे घुमाउराे जवाफ

काठमाडाैं– सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गुठी विधेयक जनताकाे पक्षमा भएकाे बताएका छन्। विधेयक आउनु भन्दा पहिला नै विराेध आउनुलाई उनले पूर्वाग्रहकाे रूपमा परिभाषित गरे। 

आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले गुठी विधेयकलाई जोडेर कांग्रेस नेता गगन थापाले दिएको अभिव्यक्तिको घुमाउरो उत्तर दिए। 'स्वर्गद्वारीको १२/१४ विगाह जमीन छ बराबरको,  त्यो कहाँ जान्छ त त्यत्रो सम्पती? त्यहाँ गएर छोयो की सरकार ढाल्यो भन्ने?' उनले भने।

बुधबार कांग्रेस नेता थापाले प्युठान पुगेर पशुपति चलाउँदा पुष्पकमल दाहाल सकिएको र स्वर्गद्वारी चलाउँदा ओली सकिने अभिव्यक्ति दिएका थिए। थापाले गुठी विधेयकको चर्को विरोध गर्दै पशुपतिनाथको मन्दिरका पुजारी चलाउँदा तत्कालीन प्रधानमन्त्री सकिएको र स्वर्गद्वारी चलाउँदा प्रधानमन्त्री केपी ओली सकिने चेतावनी दिएका थिए।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गुठी विधेयक नसच्याए सरकार ढल्न सक्ने चेतावनी दिएका थिए। कांग्रेस सांसद भीमसेनदास प्रधानले पनि आज संसदमा गुठी विधेयक विरूद्ध आन्दाेलन चर्किरहेकाे बताउँदै काठमाडाैंका जनता उठेपछि कस्ताे अवस्था सिर्जना हुन्छ, त्यसकाे हेक्का राख्न सरकारलाई चेतावनी दिएका थिए।

प्रकाशित: ३० जेष्ठ २०७६ १२:४५ बिहीबार

गोकुल_बास्कोटा गुठी_विधेयक गगन_थापा