राजनीति

‘हिन्दु र बौद्ध धर्मलाई नष्ट गर्नेगरी आएको गुठी विधेयक तत्काल फिर्ता लिनुपर्छ’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले पनि संघीय संसदमा पेश गरेको गुठी विधेयक तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्षद्वय पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकको धार्मिक, सांस्कृतिक पक्षलाई समाप्त पार्नेगरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारलाई दबाब दिएका हुन्। सो विधेयक तत्काल फिर्ता नलिए सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने अध्यक्ष राणाको चेतावनी छ।

हिन्दु तथा बौद्ध धर्मलाई नै नष्ट गर्ने गरी आएको सो विधेयकको विरोधमा जनता रहेका र उनीहरुलाई परिचालन गरेर सरकारलाई सो विधेयक फिर्ता लिन बाध्य बनाउने अध्यक्ष राणाको भनाई छ। 

अर्का अध्यक्ष लोहनीले सरोकारवाला निकायसँग छलफल गरेर उनीहरुले दिएको सुझावको आधारमा सो विधेयकलाई पुनः तर्जुमा गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए। सरकारले भू माफियाको मिलेमतोमा ल्याएको सो विधेयक आफ्नो पार्टीलाई स्वीकार्य नहुने उनको चेतावनी छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले सो विधेयक तत्काल फिर्ता नलिए प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने पनि स्पष्ट पारेको छ।

प्रकाशित: ३० जेष्ठ २०७६ ११:०७ बिहीबार

राप्रपा_(संयुक्त) गुठी_विधेयक फिर्ता सरकार दबाब