राजनीति

गृहमन्त्रीसँग जवाफ माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध

संसद बैठक अवरुद्ध गर्दै कांग्रेस सांसद। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

प्रस्तावित गुठी विधेयकको विरोध गर्नेहरुमाथि आइतबार माइतीघर मण्डलामा सरकारी पक्षबाट भएको दमनको बिरोध गर्दै कांग्रेसले उक्त घटनाबारे सरकारसँग जवाफ माग गर्दै संसद बैठकमा अवरोध गरेको हो। कांग्रेसको अवरोधपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक अवरुद्ध गरेका थिए। 

संविधान विपरित गुठी विधेयक किन ल्याएको र शान्तिपूर्ण दमनमा किन हस्तक्षेप गरेको भन्ने प्रश्नको जवाफ गृहमन्त्री रामबहादुर थापाले संसदमा दिनुपर्ने माग गर्दै कांग्रेसले संसद अवरुद्ध गरेको हो।  

गुठीलाई समाप्त गर्ने उद्देश्यले विधेयक ल्याएको भन्दै कांग्रेसले शान्तिपूर्ण भेला हुने, विरोध जनाउने अधिकार सरकारले कुण्ठित गर्न खोजेको आरोप लगाएको छ। गुठी विधेयकबाट पुरातन धर्म संस्कृतिमाथि नै प्रहार भएको कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले बताए। 

प्रकाशित: २७ जेष्ठ २०७६ ०६:१७ सोमबार

नेपाली_कांग्रेस संसद_बैठक अवरूद्ध सरकार