राजनीति

राधाकृष्ण भण्डारी(राधे)लाई सुरक्षा संयन्त्रले नै मार्ने षडयन्त्र गरेको तरुण दलकाे आरोप

काठमाडाैं– नेपाल तरुण दलले धादिङ उपाध्यक्ष राधाकृष्ण भण्डारी(राधे)लाई राज्य सुरक्षा संयन्त्रले नै मार्ने षडयन्त्र गरेको आरोप लगाएको छ।

तरुण दलले शनिबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी नेपाल प्रहरी नै भण्डारीको ज्यान लिने षडयन्त्रमा लागेको दाबी गदै जीवन रक्षाको माग गरेको हो। पत्रकार सम्मेलनमा तरुण दलका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले धादिङको रोराङ गाउँपालिका टुनेदोबानमा जेठ २२ गते भएको विवादमा संलग्न नै नभएका भण्डारीलाई स्थानीय जनक मगरले किटानी जाहेरी दिएको भनी गलत कागज बनाई प्रहरीले नियन्त्रणमा लिने काम गरेको भन्दै आपत्ति जनाए। उनले भण्डारीलाई मार्ने योजना भइरहेको आफुहरुले थाहा पाएको भन्दै जीवनरक्षाको माग गरे।

उनले भने  'अहिले तरुण दल र पुलिस प्रशासनबीच ३६ को आँकडा भएको छ। सांच्ची नै पुलिस प्रशासन यही ढंगले जाने हो भने हामी पुलिस प्रशासन विरुद्ध अगाडि बढ्नुपर्छ। सोझो, इमान्दार मान्छेलाई यसरी समात्ने हो भने हामी कुनै पनि आन्दोलन गर्न तयार छौ। राधेलाई समात्ने मात्रै होइन कि राधेलाई मार्ने योजनामा पुलिस प्रशासन अगाडि बढेको छ भन्ने हामीले सुनेका छौ। हामी उहाँको जीवनरक्षको पनि अपिल गर्छौ।'

कार्यक्रममा स्थानीय जनक मगरले पुलिस आफैले तयार पारेको किटानी जाहेरीमा जवरजस्ती हस्ताक्षर गर्न लगाएको बताएका थिए। तरुणदलले उपाध्यक्ष भण्डारीलाई रिहा नगरे देशव्यापी आन्दोलनमा जाने चेतावनी समेत दिएको छ।

प्रकाशित: २५ जेष्ठ २०७६ ०८:२४ शनिबार

नेपाल_तरुण_दल राधाकृष्ण_भण्डारी(राधे)