राजनीति

मन्त्री लालबाबु पण्डितले पाए अन्तिम मौका

काठमाडौं– संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई जेठ २७ गते सोमबार बिहान बोलाइएको बैठकमा सहभागी हुन अन्तिम मौका दिएको छ। स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धि लोक सेवाआयोगले खुलाएको विज्ञापनका सम्बन्धमा सरकारको धारणा बुझ्न समितिले शुक्रबार अपरान्ह बोलाएको बैठकमा पनि अनुपस्थित भएपछि मन्त्री पण्डितलाई आगामी सोमबार बिहान बोलाइएको बैठकमा सहभागी हुन अन्तिम मौका दिने निर्णय गरेको हो।

सो बैठकमा पनि मन्त्री पण्डित सहभागी नभए सो खुलाइएको विज्ञापन फिर्ता लिन सरकारमार्फत् लोकसेवा आयोगलाई निर्देशन दिने सहमति गरिएको समितिकी सभापति शशी श्रेष्ठले जानकारी दिइन। मन्त्री पण्डितले शुक्रबार सोमबार अपरान्हको बैठकमा आउने सहमति गरेपनि अनुपस्थित भएकोमा सभापति श्रेष्ठले आपत्ति जनाइन्।

बैठकमा समितिका सदस्य विजय सुब्बाले भने मन्त्री पण्डितले २५ गतेपछि बस्ने बैठकमा मात्रै आउने जानकारी गराउँदा गराउँदै सो विषयमा निर्णय लिन हतारो गरिएको भन्दै असन्तुष्टि व्यक्त गरे। सत्तारुढ नेकपाका सांसद समेत रहेका उनले विभागीय मन्त्रीसँग छलफल नै नगरी कसरी समितिले निर्णय लिन सक्छ? भन्दै प्रश्न गरेका थिए।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु र राष्ट्रिय जनता पार्टी, नेपालका सांसद राजेन्द्र महतोले मन्त्री पण्डित पटक पटक अनुपस्थित भएको उल्लेख गर्दै तत्काल सो विज्ञापन फिर्ता लिन लोकसेवा आयोगलाई निर्देशन दिन समितिकी सभापति श्रेष्ठलाई दवाव दिएका थिए। गत जेठ २० गतेबाट समितिले सो विषयमा छलफल गर्न खोजेपछि  मन्त्री पण्डितले समितिको बैठक छल्दै आएका थिए। मन्त्री पण्डितले संसदीय समितिलाई छल्न खोजेकोमा सत्तारुढ नेकपाकै सांसदहरुको पनि विरोध छ। संविधान र संघीयता विपरित सो विज्ञापन आएकाले त्यसलाई फिर्ता लिनुपर्ने समितिका धेरैजसो सदस्यहरुको मत छ।

प्रकाशित: २४ जेष्ठ २०७६ १४:२० शुक्रबार

संघीय_मामिला_तथा_सामान्य_प्रशासनमन्त्री संघीय_संसदको_राज्य_व्यवस्था_तथा_सुशासन_समिति सेवाआयोग_विज्ञापन