राजनीति

ढोरपाटनबाट घन्कियो विभेदविरुद्धको नारा, प्रकाश सपुतले तताए माहोल

बागलुङ - जातीय भेदभाव तथा उन्मुलन दिवसको अवसरमा ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा विशाल आमसभा सम्पन्न भएको छ।

२७ टोली नौमति बाजा र झाँकीसहितका ५ हजारभन्दा बढी जनसागरले विभेद विरुद्ध नारा लगाएका थिए। काठमाडौंलाई तर्साउनै गरी जुलुसले भेदभाव विरुद्ध नगरा घन्काउँदै वुर्तिवाङ बजार परिक्रमा गरेको थियो। दलित आन्दोलनमा यति ठूलो जनसागर केन्द्रमा समेत देखिँदैन।

प्रमुख अतिथि नगरपालिकाका मेयर देवकुमार नेपालीले अग्रपंक्तिमा रहेर बजार परिक्रमा गरी विशाल जनसभालाई सम्बोधन गरेका थिए। अब नगरपालिकामा खरको छानो नरहने र ढोरपाटन नगरपालिकाबाट छुवाछुत हटाउने उनको संकल्प  छ। एउटा दमाईको छोरा नगरपालिकाको मेयर भएपछि धेरैले घेराबन्दी गरेका छन्। मेयर देवकुमारले भने, ‘तर, हाम्रो नगरपालिकामा जति सुशासन नेपालको कुनै नगरपालिकामा छ भने मलाई भन्नुहोला।’ कसैले भ्रष्टाचार गरेको प्रमाण देखाएमा झुण्डीएर मर्न तयार रहेको पनि उनले बताए। मेयर नेपालीले अहिलेसम्म सरकारबाट तलबभत्तासमेत लिएका छैनन्। बरु उनले पाँच सय दलित÷गरिबको घरमा आफ्नै लगानीमा टिनको छाना हालिदिएका छन्, ५८ जना शिक्षकलाई तलब दिएर राखेका छन्, क्याम्पसमा २१ लाख पाँच हजार रुपैयाँको अक्षयकोष निर्माण गरेका छन्, प्रत्येक दलित बस्तीमा मोटरबाटो पु-याएका छन्। 

क्षेत्रीय दलित सञ्जालको आयोजना र नगरपालिकाको सहयोगमा सम्पन्न भएको उक्त कार्यक्रममा जनसागर उर्लिएको थियो। नगरपालिकाका नौ वटा वडाबाट विभेद विरुद्ध विगुल फुक्नका लागि हजारौ दलितहरु ओइरिएका थिए। 

अब उत्तरगंगा जलविद्युत अयोजनाबाट विजुली बलेपछि ढोरपाटन नगरवासीको मुहार फेरिने देवकुमारले बताए। ‘प्रधानमन्त्रीसँगै लविङ गरेर जलविद्युत आयोजना चाँडो सक्ने गरी काम हुँदै छ। देवकुमारले जनतालाई खुशी बनाउने भो भनेर उता केन्द्रमा बाहुनहरु लड्दै छन् रे’, उनले बुर्तिवाङ बजार थर्काउँदै भने, ‘हामी केही कुरामा कम छैनौं। खै गैरदलितले यति मास जुटाएर देखाओस् त।’ उनले आफ्नो सम्पत्ति सम्पूर्ण नगरबासीको भएको उल्लेख गरे।

राष्ट्रिय दलित आयोगका निवर्तमान कार्यवाहक अध्यक्ष मञ्जित ताम्राकारले अहिले दलित आन्दोलन निकै कमजोर अवस्थामा रहेको बताए। उनले भने, ‘अब हामी एकजुट भएर आन्दोलनको आँधीबेहरी सृजना गर्नुको विकल्प छैन। कार्यक्रममा जातीय छुवाछुतको व्यवहारिक अन्त्यका लागि महाकाली मेची पैदल यात्रा गरेका होमराज आचार्य र अशोक दर्नाललाई सम्मान गरिएको थियो। 

चर्चित कलाकार प्रकाश सपुत नौस्टाल्जिक बन्दै विभेद भोगेका दिनहरुमा फर्किए। आफ्नौ घरमा चिया पाक्ने हैसियत नभएको र अर्काको घरमा चिया खाएर भाँडा माझेको सम्झिए। उनले आफ्नो हजुरवासँग बसेर आरनमा काम गरेको बताउँदै समाज अझै विभेदमा अल्झिएकोमा दुःख व्यक्त गरे। सपुतले मेयरसँग आग्रह गरे, ‘देव दाई हामी सबैको मेयर हो। तर, अरुलाई एउटा मिठाई दिँदा दलितलाई दुई वटा र अरुलाई एउटा टिसर्ट दिँदा दलितलाई दुई वटा दिनुहोला।’ कसैलै विक, परिवार, नेपाली भन्दा नजिकको अनुभूति हुने प्रकाशले बताए। 

उनले दर्शकलाई उतीखेरै रुवाए, उतिखेरै हँसाए। सपुतले वैदेशिक पीडाको कथादेखि व्याटल टु सम्म गाउँदा दर्शकलाई आफुवाहेक अरुलाई सोच्ने मौकै दिएनन्। सपुत यति लोकप्रिय थिए की गीत गाउनेबेला समेत अटोग्राफ र सेल्फी खिच्न भ्याईनभ्याई थियो।

आमसभामा सहभागी गराउनका निम्ति मेयर नेपालीले श्रीमतीलाई हेलिकप्टरमा ल्याएका थिए। मेयर नेपालीले पोखराबाट श्रीमती छेला नेपाली र छोरी कर्मालाई हैलिकप्टरबाटै आफ्नै घरको छतमा झारेका हुन्। उनले आफ्नो आठ तले घरको छतमा हेलिप्याड निर्माण गरेका छन्।

प्रकाशित: २४ जेष्ठ २०७६ ०८:२१ शुक्रबार

जातीय_भेदभाव ढोरपाटन_नगरपालिका