राजनीति

शून्य समयको उपलब्धि ‘शून्य’

काठमाडौं - प्रतिनिधिसभाका सदस्यहरूले संसद्को शून्य समयमा उठाएका विषयलाई सभामुख र सरकारले बेवास्ता गरेको गुनासो गरेका छन्। मुलुकका जल्दाबल्दा विषयमा सांसद्ले उठाएका विषयमा सरकारले कुनै चासो नदिएको र सभामुखले पनि त्यस विषयमा सरकारको ध्यानाकर्षण नगराउँदा शून्य समयमा बोलेका विषयको प्रभाव शून्य नै बन्न पुगेको गुनासो गरेका हुन्।

संसदमा उठेका विषयमा सरोकार पक्षले कुनै चासो नदिने र सभामुखले पनि ध्यानाकर्षण नगराउने भए शून्य समयको औचित्य नभएको तर्क गरेका छन्। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद् विरोध खतिवडाले शून्य समय साँच्चिकै उपलब्धिहीन शून्य भएको धारणा राखे। ‘शून्य समयमा सरकारको आशय र मनसायका साथै सांसदहरूका आवाज सरकारले सुन्ने भन्ने हो। व्याकरण अनुसार आवाज कानले सुन्ने समय नै ‘शून्य समय’ हो,’ खतिवडाले बिहीबारको बैठकमा भने, ‘गल्तीबस नियमावलीमा अंकगणितको शून्य समय भएछ। शून्यमै यो हराए जस्तो लागेको छ। त्यसो हुँदाहुँदै पनि शून्य पनि अति शक्तिशाली छ।’

शून्यमा पनि एउटा सहारा पाए दस गुना पावरफूल हुने धारणा राख्दै सभामुख कृष्णबहादुर महराप्रति व्यग्ये गर्दै उनले भने, ‘१ को पछाडि शून्य थप गर्दा १० हुन्छ, अर्को शून्य थप गरे १०० हुन्छ, शून्ना थप गर्दैजाँदा दस हजार, लाख हुँदै जानेछ। सभामुखले सहारा बनेर उभिनुस् हामी एक एकवटा शून्य थप्दै जान्छौ, त्यसपछि शून्य समयको अर्थ होला।’

सांसद लक्ष्मी परियारले संसद् सचिवालयका कर्मचारी र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कर्मचारीबीच विभेद भएको बताइन्। संसद् सचिवालयका कर्मचारीले ५० प्रतिशत अतिरिक्त भत्ता लिएको तर, सम्मेलन केन्द्रका कर्मचारीलाई नदिएको बताइन्। सांसद् लालकाजी गुरुङ्ले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बेरुजु मात्रै ३० अर्व ३६ करोड रुपैयाँ रहेको बताए। ‘अनियमितताबाट गरिएका यस्ता खर्च नियन्त्रण गर्न महालेखा परीक्षकले अनुरोध गरेपछि मन्त्रालयबाट अनुसन्धान गर्ने भनेर उल्टै २० लाख खर्च गर्दैछ, यसबारे सरकारले के गरिराखेको छ।

प्रकाशित: २४ जेष्ठ २०७६ ०२:३३ शुक्रबार

शून्य_समय प्रतिनिधिसभा सभामुख