राजनीति

कौडीको भाउ पनि नभएको तक्मा बिहेमा लगाउने कि मलामी जाँदा ?

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ एंव सांसद रामकुमारी झाँक्रीले सरकारले दिएको संविधानसभा पदकको विरोध गरेकी छिन्। झाँक्रीले जनताबाहेक कसैले दिएको सम्मानको कुनै तक्माको मुल्य नहुने भन्दै विरोध गरेकी हुन्।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै झाँक्रीले लेखेकी छिन् ‘फोटो हेरेर बिरोध गर्नु भन्दा यसको सैदान्तिक विषयमा नै विवाद गरौ भन्ने लाग्छ मलाई। संविधान बनायौं स्याबास भने पनि जनताले भन्ने हो। राजनीतीकर्मिलाई जनता बाहेक कसैले दिएको पदक र तक्माको मूल्य हुन्न।’ यो के तक्मा शीतलनिवास भोज खान जादा लगाउने? कि जन्त, मलामी, बिहे पार्टी, पास्नीमा जाँदा?’

झाँक्रीले पदकबारे यसअघि पनि ट्वीट गरेकी थिइन्। ‘तपाईले पदक पाउनु भयो, व्यक्तिगत हिसावले ठिकै हो भनिदिन्छु तपाइलाई। तर यो पदकको राजनीतिमा कुनै मूल्य र साइनो छैन। कौडीको भाउ पनि छैन्। यस्ता पदक राजनीतिकर्मीले बहिष्कार गरेको राम्रो। सरकारको पदक दिने निर्णय नै गलत हो। फजुल खर्च र राजतन्त्र कालिन शैली र भत्ता नक्कल मात्र हो।’ झाँक्रीले ट्वीट गरेकी थिइन्।

सरकारले १२ औं गणतन्त्र दिवसको भोलिपल्ट ७ सय १३ जना संविधानसभाका सदस्यलाई ‘संविधानसभा पदक’सहित सम्मान गरेको थियो। राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान निर्माणमा महत्वपूर्ण योगदान पु-याएकोमा उच्च मूल्याङ्कन गर्दै पहिलो र दोस्रो संविधानसभामा निर्वाचितलाई राष्ट्रकोतर्फबाट पदकसहित सम्मान प्रदान गरेकी थिइन्।

मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान भाग ३२ अन्तर्गत धारा २७७ को उपधारा १ बमोजिम नेपालको संविधान निर्माणमा योगदान पु-याएबापत सभासद्हरुलाई सम्मान गरिएको जनाएकाे थियाे।

नेकपा_सांसद रामकुमारी_झाक्री संविधानसभा_पदक