राजनीति

बजेट कागजको घोडाजस्तो आयो, पानीजहाज र रेल चढ्न नपाइने भयाे : नेता खाँड

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बजेटलाई कागजको घोडाको संज्ञा दिएका छन्।

प्रतिनिधिसभाको विहीबारको बैठकमा आगामी आर्थिक बर्ष २०७६/७७ को बजेटमाथिको छलफलमा सहभागी हुँदै उनले बजेट कागजको घोडा जस्तै भएको टिप्पणी गरे। पुँजीगत खर्च र विकास खर्च भन्दा चालु खर्च बढी भएको ऋणात्मक बजेटले मुलुकको समृद्धि हासिल गर्न नसक्ने दाबी उनले गरे।

उनले भने, ‘कागजको घोडा जस्तै बजेट आयो। न यसले घास र दाना खाला, न यसले सवारी बोक्न सक्ला? ऋणात्मक खालको बजेट जो पूँजीगत खर्च गर्ने सकेको छैन। पूँजीगत खर्च गरेर शान्ति र समृद्धि ल्याउनुपर्यो नि। पूँजीगत खर्च गर्न नसक्ने, विकास खर्च गर्न नसक्ने। बजेट वृद्धि हुने, विकासमा वृद्धि नहुने, चालु खर्चमा वृद्धि हुने, चालु खर्च नपुग हुने, विकास खर्च गर्नै नसक्ने। त्यसैले यो कागजको घोडा भयो। कागजको घोडा दौडाएर कहीँ पनि पुग्दैन। पोहोरसाल कागजको घोडा अलि सानो थियो। यसपालि कागजको घोडा अलि ठूलो भएछ। अझै ठूलो बनाइदिएको भए पनि हुन्थ्यो। ठूलो बनाएको भए सायद पानी जहाज आउँथ्यो होला। रेल आउथ्यो होला।  जनतालाई पानी जहाज र रेल चढ्ने इच्छा छ। देशभित्रै पानीजहाज चढ्ने इच्छा छ। त्यो इच्छा पुरा गथ्र्यो होला तर यो कागजको घोडाले त्यो इच्छा पुरा गर्ने भएन। त्यसो भएर दुःख लाग्या छ।’

संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसाथ गरे पनि बजेटले संघीयताको आधारशीलालाई नमानेको टिप्पणी उनले गरे। खाँडले समाजवाद हुँदै साम्यवाद उन्मुख हुने बताउने सरकारको बजेट समाजवाद हुँदै पुँजीवाद उन्मुख भएको दाबी गरे। 

कर्मचारीको तलब वृद्धि भए पनि वृद्धिदरको अनुपातमा समानता कायम नभएको टिप्पणी उनले गरे। उनले वृद्ध भत्ताका लागि ७० बर्षबाट ६५ बर्षमा कायम गर्ने निर्णय पूर्ववर्ती सरकारले गरेको भन्दै सोही मापदण्ड लागु गर्न आग्रह गरे। त्यसैगरी उनले पुर्ववर्ती सरकारले स्पाईनल कर्ड इन्जुरी, मटु, मिर्गौला, क्यान्सर रोगका विरामीलाई निर्वाह भत्ताका लागि प्रतिमहिना ५ हजार दिने कार्यक्रमलाई बजेटमा समावेश गर्न माग गरे।

प्रकाशित: २३ जेष्ठ २०७६ ०८:१२ बिहीबार

नेपाली_कांग्रेस बालकृष्ण_खाँड बजेट कागजको_घोडा