राजनीति

प्रेस युनियनले मिसन बोलाउने

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनले मिडिया काउन्सिल विधेयक सरकारले नसच्याए अन्तर्राष्ट्रिय मिडिाया मिसन बोलाउने बताएको छ। युनियनले बुधबार काठमाडौंमा आयोजना गरेको छलफलमा अध्यक्ष बद्री सिग्देलले प्रेस स्वतन्त्रताको रक्षाका लागि आवश्यक परे अन्तर्राष्ट्रिय मिडिया मिसन बोलाउने बताएका हुन्।

जुन ११ देखि १४ सम्म ट्युनिसियामा हुने आईएफजेको ३० औं विश्व सम्मेलनमा नेपालको पत्रकारिता क्षेत्रमा देखिएका समस्याका बारेमा जानकारी गराउने बताउँदै सिग्देलले सरकारले कानुन बनाएर प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको बताए।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष सुरेश आचार्यले सरकारले ल्याउन मिडिया काउन्सिलसम्बन्धी विधेयकले प्रेस स्वतन्त्रतालाई मात्र हनन् नगरी लोकतन्त्रको मूल्य मान्यतालाई नै प्रहार गर्न खोजेको धारणा राखे। राज्य पक्षबाटै मिडियमाथि चुनौती बढेको जनाउँदै उनले भने, ‘सरकारी मिडियामा सेन्सरसिप लागु भइसकेको छ। अब प्राइभेट क्षेत्रमा पनि लाग्ने खतरा बढेको छ।’ कार्यक्रममा महासंघका उपाध्यक्ष विपुल पोखरेलले राज्य पक्षबाट प्रेस स्वतन्त्रतामाथि भएको हस्तक्षेप रोक्न आइएफजेलाई मिसनसहित नेपाल बोलाउन युनियनलाई आग्रह गरे।

प्रकाशित: २३ जेष्ठ २०७६ ०१:५९ बिहीबार

नेपाली_कांग्रेस नेपाल_प्रेस_युनियन मिडिया_काउन्सिल_विधेयक