राजनीति

भारत–पाक सम्बन्धका कारण सार्कको भविष्य अनिश्चित

काठमाडौं - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार बिमस्टेक मुलुकका सरकार प्रमुखहरूको समेत उपस्थितमा दोस्रो कार्यकालका लागि शपथ लिएका छन्। पहिलोपटक प्रधानमन्त्री हुँदा दक्षिण एसियाली सहयोग संगठन (सार्क) लाई महत्व दिने संकेत गरेका मोदीले दोस्रो कार्यकालमा भने सार्कलाई बेवास्ता गर्ने संकेत गरेका छन्।

पहिलो कार्यकालको शपथ ग्रहणमा सार्क मुलुकका सरकार प्रमुखलाई निमन्त्रणा गरेका उनले दोस्रो कार्यकालको शथपग्रहणमा बिमस्टेक सम्बद्ध मुलुकलाई मात्र निमन्त्रणा गरेका हुन्। मोदीले शथपग्रहण कार्यक्रममा सार्कका सरकार प्रमुखलाई निमन्त्रणा नगरेर मात्र सार्कलाई वेवास्ता गरेको संकेत गरेका भने होइनन्। सन् २०१६ नोभेम्बरमा पाकिस्तानको इस्लामावादमा हुने भनिएको सार्क शिखर सम्मेलनलाई बहिस्कार गरेर भारतले सार्कलाई बेवास्ता गरेको सन्देश दिएको थियो। भारतकै कारण प्रत्येक दुई वर्षमा हुने सार्क शिखर सम्मेलन लामो समयदेखि आयोजना हुन सकिरहेको छैन।

भारतले सन् २०१६ मा उरीस्थित सैन्य बेसक्याम्पमा आतंकवादी हमला भएपछि हमलाको आरोप पाकिस्तानमाथि लगाउँदै इस्लामाबादमा हुने भनिएको सार्क शिखर सम्मेलनमा सहभागी नहुने निर्णय गरेको थियो। भारतले पाकिस्तानसँगको सम्बन्धकै कारण सार्कलाई प्राथमिकतामा राख्न छोडेको हो। पाकिस्तानलाई दक्षिण एसियाबाट एक्लाउने रणनीतिअन्तर्गत सार्कलाई बेवास्ता गर्न थालेको कूटनीतिक क्षेत्रका जानकारहरू बताउँछन्। पछिल्लोपटक जम्मु–कश्मिरको पुलवामा भएको आतंकवादी हमलामा दर्जनााैं भारतीय सुरक्षाकर्मीको मृत्यु र त्यसलगत्तै भारतले पाकिस्तानको बालाकोटमा गरेको हवाई आक्रमणपछि दुई मुलुकबीचको सम्बन्ध थप चिसो हुँदै गएको छ।

भारतमा हालै सम्पन्न भएको लोकसभा निर्वाचनको माहोल सुरु भएकै बेला पुलवामा आतंकवादी हमला भएको थियो। त्यसलगत्तै भारतले पाकिस्तानी हवाई क्षेत्रमा प्रवेश गरेर सयाँै आतंकवादीलाई मारेको दाबी गरेको थियो। प्रधानमन्त्री मोदीले उक्त घटनालाई चुनावी प्रचारको सामग्रीसमेत बनाएका थिए। मोदीले उक्त घटनालाई चुनावी अजेन्डासमेत बनाएका थिए। उक्त घटनामा भारतीय लडाकु विमान पाकिस्तानले खसालिदिएको थियो भने भारतीय पाइलटलाई समेत पाकिस्तानले नियन्त्रणमा लिएको थियो। घटनालगत्तै पाकिस्तानले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमार्फत भारतीय दाबी गलत भएको सन्देश दिएपछि मोदीको दाबीलाई भारतभित्रै पनि आलोचना गरिएको थियो। भारतले आतंकवादीको अखडामा हमला गरेको बताए पनि हमला भएको क्षेत्रमा एउटा काग मात्र मरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका थिए।

भारत र पाकिस्तानबीच तनावकै अवस्थामा मोदीले बहुमतसहित निर्वाचनमा विजय हासिल गरेपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले समकक्षी मोदीलाई सम्पर्क गरेर बधाई दिएका थिए। चुनावकै क्रममा पनि खानले भारतमा मोदीको पुनः उदय भएमा भारत र पाकिस्तान विवाद समाधान हुने जनाएका थिए। हवाई हमलामा गरिएको दाबी र पाकिस्तानी प्रधानमन्त्रीको मोदीप्रतिको उदार धारणाका कारण विपक्षीले मोदीको चर्काे विरोध गरेका थिए। पाकिस्तानी समकक्षीबाट बधाई समेत स्वीकार गरेका मोदीले पाकिस्तानलाई शपथग्रहणमा छुटाएपछि यो विषयमा पाकिस्तानमा समेत बहस सुरु भएको छ। मोदीले पहिलो कार्यकालका लागि सन २०१४ मा शपथग्रहण गर्दा पाकिस्तानसहितका सार्क मुलुकलाई निमन्त्रणा गरेर नयाँ अभ्यासको सुरुवात गरेका थिए।

उक्त कार्यक्रममा पाकिस्तानका तत्कालीन प्रधानमन्त्री नवाज सरिफले सहभागिता जनाएका थिए। भारतमा मोदीले शासन सम्हालेपछि सन् २०१४ मा नेपालमा भएको सार्क शिखर सम्मेलनमा दुई देशकै सरकार प्रमुखले सहभागिता जनाएका थिए। सार्क सम्मेलन अवधिभर दुई मुलुकका सरकार प्रमुखकाबीचमा दुई पक्षिय वार्ता नभए पनि सम्मेलनको अन्त्यमा भएको रिट्रिट कार्यक्रममा भने दुई देशका प्रधानमन्त्रीबीच हार्दिकतापूर्ण सम्बन्ध देखिएको थियो। पाकिस्तानमा नयाँ प्रधानमन्त्रीका रूपमा खानले सत्ता सम्हालेपछि दुई मुलुकबीच लामो समयदेखिको विवाद टुंगिने र सार्कले पनि निरन्तरता पाउने अपेक्षा गरिएको थियो। पछिल्लोसमय दुई मुलुकबीच बढ्दै गएको तिक्तताका कारण साझा मञ्चका रूपमा रहेको सार्कको भविष्य थप अन्योल बन्दै गइरहेको छ।

अमेरिकी विदेश मन्त्री माइकल पम्पियोले पनि गत पुसमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अमेरिका भ्रमणका बेला सार्कको भूमिकाको विषयमा चासो देखाएका थिए। नेपाल सार्कको अध्यक्ष मुलुक भएका कारण पनि नेपालले सार्कबारे चासो राख्नुपर्ने विज्ञहरू बताउँछन्। प्रधानमन्त्री केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री ज्ञवालीले सार्कको भूमिका र भविष्यका विषयमा नेपालले सदस्य मुलुकसँग छलफल गर्ने बताउने गरेका छन्। औपचारिक रूपमा भने नेपालले कुनै पहल कदमी लिएको छैन्। भारत र पाकिस्तानकाबीच तनाब चर्किएका बेला पाकिस्तानी विदेशमन्त्री साह मोहम्मद कुरेसीले नेपाली समकक्षी ज्ञवालीलाई टेलिफोन गरी सार्कलाई सक्रिय बनाउन नेपालले भूमिका खेल्नुपर्ने बताएका थिए।

प्रकाशित: २१ जेष्ठ २०७६ ०१:३४ मंगलबार

भारत–पाक सार्क अनिश्चित