राजनीति

भीम रावलले गरे संसदमा सरकारको आलोचना

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले अमेरिकी राजदुत -याण्डी बेरीका कूटनीतिक मर्यादा विपरितका गतिविधि रोक्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन्।

नेता रावलले बजेटमा राष्ट्रिय स्वाभिमानमा जोड दिएपछि व्यवहारमा सरकारले सोही अनुसार काम गरेर देखाउन नसकेको पनि स्पष्ट पारे। अमेरिकी राजदुत बेरीले राजदुतसँग गफगाफ’ कार्यक्रम संचालन गर्नु कूटनीतिक मर्यादा विपरित भएपनि त्यसलाई सरकारले नियन्त्रण गर्न नसकेको उनको भनाई छ। सोमबार प्रतिनिधिसभा बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको प्रारम्भिक छलफलमा भाग लिँदै उनले भियना अभिसन्धि विपरित अमेरिकी राजदुत बेरीले सो कार्यक्रम संचालन गर्दा पनि किन नियन्त्रण गर्न नसकेको? भन्दै सरकारलाई प्रश्न पनि गरे।

नेता रावलले सरकारले देश प्रेममा सघाउ पु-याउने गरी पाठ्यक्रम निर्माण गर्ने व्यवस्था गरेपनि व्यवहारमा त्यस विपरित कोरियाली विवादास्पद विश्वविद्यालयलाई प्राथमिकता दिएकोमा आपत्ति जनाए। केही दिन अघि कोरियाको काङनाङ विद्यालयले त्रिभुवन विश्वविद्यालयसँग ५ वर्षका लागि शैक्षिक कार्यक्रम आदानप्रदान गर्ने सम्झौता गरेको थियो। त्यसप्रति नेता रावलको आपत्ति छ। सो विश्वविद्यालयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि पनि प्रदान गरेको थियो।

नेता रावलले बजेटमा उल्लेख गरिएका राम्रा कामलाई कार्यान्वयनमा लैजान जोड दिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

प्रकाशित: २० जेष्ठ २०७६ ०८:५७ सोमबार

भीम_रावल -याण्डी_बेरी राजदुतसँग_गफगाफ’_कार्यक्रम