राजनीति

विश्वप्रकाश भन्छन्ः भित्र सुध्रिँदै, बाहिर गर्जिदै छ कांग्रेस

पाल्पा– ‘नेपाली काँग्रेस पार्टी सुधारोन्मुख बाटोमा अगाडि बढ्दै छ। त्यसैले त हामी भित्र सुध्रिँदै, बाहिर गज्रिँदै छौं’, प्रवक्ता विश्वप्रकाश शर्माको भनाई हो यो। ‘रुखको हाँगा भाँचिएका होलान् तर जरा अब झन् गडेर तल जाँदैछ’, उनले थपे।

कांग्रेसको जागरण अभियानका क्रममा पाल्पा आएका प्रवक्ता शर्माले कांग्रेसले आफू सुध्रिँदै बाहिर गर्जिएर कम्युनिस्ट अतिवादविरुद्ध लाग्न निर्देशित गरे। ‘गल्ती गरिएन भने सुधार हुन सक्दैन। जे भएको छ राम्रै भयो। जनताले कम्युनिस्टको शासनको स्वाद लिने मौका पाएका छन्। कांग्रेसले मात्र शासन सत्ता सम्हाल्ने जिम्मेवारी पाएको भए। कम्युनिस्ट आउँदा यो हुन्थ्यो त्यो हुन्थ्यो भन्न सक्थे, अहिले अतिवाद तथा उग्रवादको रुप सरकारको देखिएको छ’, शर्माले भने, ‘यो समय सधैं यस्तै रहँदैन। संगठनभित्र गल्ती कमीकमजोरी हुन सक्छ, तर त्यसलाई मेडिसिन गर्न जरुरी छ।’ 

युवा नेता शर्माले कांग्रेसले आलोचनालाई केन्द्रमा नराख्ने बताए। ‘सपना बाँडेर प्रधानमन्त्री ओली जी चर्चामा हुनुहोला। घरघरमा ग्याँसका पाइप जोड्ने सपना बाड्ने। पानीजहाज चलाउनेले बजेटमा किन कञ्जुस्याईं गरे, आफू चर्चामा रहेर मात्र कुनै विकास सम्भव हुँदैन’, उनले भने। कांग्रेसले विकासका लागि आधार तयार पारी काम गर्दै आएको स्मरण गर्दै शर्माले थपे, ‘आज सपना बाँँडेर हल्ला फिजाईँदै छ। कम्युनिस्टहरु छिनछिनमा रुप फेर्दैछन्। कहिले कुन नाममा कहिले कुन नाममा तरङ्ग फिँजाउने काम मात्र हुँदैन। जनताको भोटको अपमान गर्दैछन्, अब हामी अरुको कमजोरी औल्याउनेभन्दा आफूहरु मिलेर जानुको विकल्प छैन।’

जिल्लाका नेतृत्व तहमा रहेका कांग्रेसीहरुलाई प्रशिक्षणका क्रममा प्रवक्ता शर्माले नीति, नेतृत्व र समय सधैं एकै किसिमबाट अगाडि बढ्न नसक्ने बताए। उनले कार्यकर्तालाई आफूले आफैंलाई चिनेर कमजोरी सुधार गरी अनुशासित, मर्यादित, शान्त, नम्र, तथा क्रान्तिकारी बन्नुपर्ने बताए। हातमा हृदय मिलाएर अगाडि बढ्न कार्यकर्तालाई सुझाव दिए। 

प्रकाशित: १९ जेष्ठ २०७६ १५:३० आइतबार

नेपाली_काँग्रेस विश्वप्रकाश शर्मा