राजनीति

सापकोटा र पौडेललाई सम्मानः देश निर्माणमा सघाउन युवालाई निर्देशन

काठमाडौं– सत्तारुढ दल नेकपाका युवा संगठन संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेललाई सम्मान गरिएको छ। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सिन्धुपाल्चोक तत्कालिन वाइसिएल, युवा संघ र गैरभौगोलिक (८ नम्बर प्रदेश)ले संयुक्त रुपमा सम्मान गरेको हो।

सम्मान कार्यक्रममा बोल्दै संयोजक सापकोटाले अब संगठनमा केहि दिनभित्रै जिम्मेवारी बाँडफाड गरिने बताए। पार्टी युवाहरुको बाँकि काम टुंग्याइदिएपछि युवा संगठन द्रुत गतिमा अगाडी बढ्ने सापकोटाको भनाई छ। उनले सबै युवाहरुलाई देश निर्माणमा लाग्नसमेत आग्रह गरेका छन्। ‘संगठनका अगाडी थुप्रै च्यालेन्जसँगै खबरदारी छ’ उनले भने ।

त्यस्तै सहसंयोजक पौडेलले तत्कालिन वाइसिएल र युवा संघका कार्यकर्तासँगै हुनुपर्ने बताए। ‘भेडा भेडासँगै बाख्राबाख्रासँगै होईन दुबै संगठनका साथीहरुसँगै हिडेर पार्टी मात्रै होईन मन पनि मिलाउनुस्।’ अब बन्दुक बोकेर र टायर बालेर भन्दा पनि उत्पादनसँग युवाहरु जोडिएर देश निर्माणमा लाग्नुपर्ने उनले बताए। पहिलाकाभन्दा अहिलेका युवाहरु अल्छि भएको भन्दै अब युवाहरुमा जोशजाँगर हुनुपर्ने उनको भनाई छ।

प्रकाशित: १९ जेष्ठ २०७६ १०:११ आइतबार

युवा_संगठन रामप्रसाद_सापकोटा रमेश_पौडेल सम्मान