राजनीति

विप्लव समूहका नेता राईले नेकपा प्रवेश गर्दै भने-'सुरक्षित हुन नेकपामा आएको होइन'

काठमाडाैँ - प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटव्यूरो सदस्य पूर्वमन्त्री पदम राई सत्तारुढ दल नेकपामा प्रवेश  गरेका छन्। आइतवार बिहान १० बजे पार्टी कार्यालय धुम्बाराहीमा आयोजित एक कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबाहादुर थापा ‘बादल’ले राईलाई पार्टी प्रदेश गराउँदै स्वागत गरेका हुन्।

भोजपुरको बोया घर भएका राई जनयुद्धकाल अघिदेखि नै माओवादीमा संगठित भएर लागेको बेला सरकारले प्रतिबन्ध लगाएपछि राई नेकपामा प्रवेश गर्न गरेका हुन्।  उनले भने,' म कुनै डर त्रासले नेकपामा आएकाे हाेइन, देश बनाउनकाे लागि नेकपामा प्रवेश गरेका हुँ।'

एकीकृत जनक्रान्तिका नाममा आफू विप्लव समूहमा आवद्ध भएको, तर पछिल्लो समय पार्टीको गतिविधि मन पर्न छाडेका कारण नेकपामा प्रवेश गरेको उनले बताए ।

एकीकृत नेकपा माओवादी विभाजन भएपछि उनी मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा माओवादीमा लागेका थिए । वैद्यको पार्टी पनि फुटेपछि उनी विप्लव समूहमा लागेका थिए । राई विप्लव समूहका जनसरकार उपप्रमुखको जिम्मेवारीमा समेत थिए । गत निर्वाचनमा हाल प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई बम प्रहार गरेको आरोपमा प्रहरीले पक्राउसमेत गरेको थियो । तर, अदालतको आदेशमा उनी रिहा भएका थिए ।

प्रकाशित: १९ जेष्ठ २०७६ ०६:११ आइतबार

नेत्रविक्रम_चन्द विप्लव नेकपा