राजनीति

कम्युनिष्ट सरकारले जनतालाई अन्याय गर्‍याेः पौडेल

साफेवगरमा कांग्रेस अछाम क्षेत्र नम्वर १ ले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल । तस्बिरः खम्म/नागरिक

अछाम– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल कांग्रेसले चलाएको देशव्यापी जागरण अभियानको क्रममा सुदुरपश्चिमको अछाम आइपुगेका छन्। अछामको साँफेवगरमा भएको सभालाई सम्वोधन गर्दै नेता पौडेलले सरकारले जनतामाथि अत्याचार गरिरहेको बताउँदै, सत्तामा पुगेका नेताहरुले पदको दुरुपयोग गर्दै आमनागरिकमा कुशासन लादीरहेको बताएका छन्। उनले भने, ‘तत्कालिन एमाले र माओवादीले देशमा साम्यवाद ल्याउने समाजलाई समृद्ध बनाउने भनेर चुनावमा एक भएर जनतालाई भोट मागे तर अहिले आएर साम्यवादले देखाएको बाटो भुल्दै नेपालमा केवल पक्षपातको शासन, भ्रष्टाचारको शासन र जनतामाथी अत्याचारको शासन गरिरहेका छन्।’

जागरण अभियानको सभालाई सम्बोधन गर्ने कार्यक्रमअन्तर्गत १२ दिने सुदुरपश्चिम भ्रमणमा रहेको नेता पौडेलले कम्युनिष्टको सरकारले देशलाई समाजवाद उन्मुख गर्नुको साटो करोडौं अरर्बौ रकमको योजना आफ्ना कार्यकर्ता केन्द्रित गरिरहेको बताउदै देशको ढुकुटी रित्याउने काम र कार्यकर्ता पोस्ने कामबाहेक अरु केहि गर्न नसकैको आरोपसमेत लगाएका छन्।

पौडेलले भने, ‘कम्युनिष्ट सरकारले कमिशनको खेलमा लागेर स्थानीय तहमा कार्यन्वन हुने विकास निर्माण गतिविधिलाई स्थानीय सरकारले समन्वय विनासिधै प्रदेश सरकारको मातहतबाट सञ्चालन गरिरहेको छ।’ यसै कुराले अहिलेको सरकार कति भ्रष्ट छ भन्ने कुरा प्रमाणित भएको उनको जिकिर छ। पौडेलले सरकारले जनताको चाहना र हितविपरित काम गरिरहेको बताउँदै जनता जाग्नु पर्ने समय आइसकेको बताएका छन्।

प्रकाशित: १५ जेष्ठ २०७६ १३:२८ बुधबार

नेपाली_कांग्रेस जागरण_अभियान राचमन्द्र_पाैडेल