राजनीति

मोदीको सपथमा सहभागी हुन प्रधानमन्त्री ओली भारत जाने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली भारत जाने भएका छन्।

भारतीय समकक्षी नरेन्द्र मोदीको सपथ कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली आगामी बिहीबार दिउँसाे नयाँदिल्ली प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। बुधवार बजेट सार्बजनिकीकरण कार्यक्रम भएकाले ओली सपथकै दिन बिहीबार दिल्ली जाने तय भएकाे हाे। ओलीलाई सपथ समारोहमा सहभागिताका लागि मोदीले आमन्त्रण गरेका थिए।

भारतमा भर्खरै सम्पन्न लोकसभा निर्वाचनमा स्पष्ट बहुमतसहित मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्दैछन्। उनको सपथ बिहीबार साँझ ७ बजे नयाँदिल्लीस्थित राष्ट्रपति भवनमा हुँदैछ।

सो कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै प्रधानमन्त्री ओली उपस्थित हुने छन्। ओलीकाे भ्रमण टिममा पत्नी राधिका, परराष्ट्र सल्लाहकार राजन भट्टराई, परराष्ट्र सचिवलगायत रहने छन्।

सपथ समाराेहमा सहभागी भएर ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ। 

भारतीय विदेश मन्त्रालयका अनुसार माेदीकाे सपथमा बिमस्टेक सदस्य राष्ट्रका प्रमुख सहभागी हुँदैछन्। 

प्रकाशित: १४ जेष्ठ २०७६ ०८:१० मंगलबार

केपी_शर्मा_ओली भारत_भ्रमण नरेन्द्र_मोदी सपथ