राजनीति

मिडिया काउन्सिल विधेयकबारे राष्ट्रियसभा अध्यक्षको पहल

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मिडिया काउन्सिल विधेयकबारे सञ्चारमन्त्री गोकुल बाँस्कोटासँग छलफल गरेका छन्। राष्ट्रियसभा सचिवालयमा आइतबार भएको छलफलमा विधेयक कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भएको थियो। विधेयक राष्ट्रियसभामा दर्ता भएकाले यसलाई राष्ट्रियसभा बैठकमा टेबुल गराउने वा नगराउने विषयमा सरकार दोधारमा छ।

राष्ट्रियसभाको बैठक १३ गते बोलाइएको छ। विधेयक फिर्ता लिनका लागि चौतर्फी दबाब भइरहेको छ। विधेयक परिमार्जन गर्नेतर्फ सरकारले लचकता देखाएको छ। संसद्मा विधेयक टेबुल गरेपछि त्यसलाई सत्तापक्षले नै संशोधन राखी समितिमा लगेर परिमार्जन गर्ने तयारी सरकारको रहेको स्रोतको भनाइ छ।

पत्रकार महासंघको भेटघाटमा अध्यक्ष तिमिल्सिनाले मिडिया काउन्सिल विधेयक मिडियामैत्री बनाउने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए। उनले मन्त्री बाँस्कोटासँग पनि पत्रकार महासंघले गराएको ध्यानाकर्षण पनि जानकारी गराएका थिए।

प्रकाशित: १३ जेष्ठ २०७६ ०६:१२ सोमबार

राष्ट्रियसभा मिडिया_काउन्सिल_विधेयक गोकुल_बाँस्कोटा