राजनीति

मोदीले भनेः नेपालसँग मिलेर काम गर्न चाहन्छु

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले हालै सम्पन्न भारतीय लोकसभाको निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) तथा उसको गठबन्धन नेसनल डेमोक्रेटिक एलायन्स (एनडीए)ले विजय हासिल गरेकोमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोन गरी बधाइ दिएका छन्। आइतबार दिउँसो उनले मोदीलाई फोन गरी बधाई दिएका हुन्। 

त्यसक्रममा वरिष्ठ नेता नेपालले प्रधानमन्त्री मोदीको कार्यकालमा दुई देशबीच रहिआएको युगीन सम्बन्धले नयाँ उचाई प्राप्त गर्ने र आर्थिक–सामाजिक विकासका लागि उच्चस्तरको साझेदारी हुने विश्वास व्यक्त गरेका थिए। साथै, पारस्परिक हित र लाभका क्षेत्रमा दुबै देश मिलेर अघि बढ्ने अपेक्षा गर्दै आफू, आफ्नो पार्टी र नेपाली जनताको तर्फबाट उनको नयाँ कार्यकालको सफलताको कामना गरे। 

जवाफमा भारतीय प्रधानमन्त्री मोदीले बधाई र शुभकामनाका लागि धन्यवाद व्यक्त गर्दै नेपालसँग मिलेर काम गर्न आफू सधैं इच्छुक रहेको उल्लेख गर्दै दुई देशको मात्र नभई यस क्षेत्रकै विकास र समृद्धिका लागि आफ्नो ध्यान केन्द्रीत हुने बताएको नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए।

प्रकाशित: १२ जेष्ठ २०७६ १२:४९ आइतबार

नेकपा माधवकुमार_नेपाल नरेन्द्र_मोदी टेलिफोन