राजनीति

पुरानो साख फर्काउने रणनीति

राजविराज - कांग्रेसले राष्ट्रव्यापी रूपमा गरेको जागरण अभियानले कार्यकर्तामा उत्साह देखिएको छ। सप्तरीलगायत प्रदेश–२ अन्तर्गतका ८ जिल्लामा यस अभियानलाई अझ सशक्त रूपमा सञ्चालन गर्न स्थानीय नेतृत्वलगायत नेता कार्यकर्ता निकै उत्साहित देखिएको प्रदेशसभामा कांग्रेस संसदीय दलका नेता रामसरोज यादव बताउँछन्।

वर्तमान सरकारको आराजकता, प्रदेश सरकारको भ्रष्टाचार र अनियमितता, लोकतन्त्र र संवैधानिक संस्थामाथि राज्यपक्षबाट भइरहेको नियोजित प्रहारबारे आमजनतालाई सचेत तुल्याउनुका साथै एकाताबद्ध रूपमा सांगठनिक सुदृढीकरणलगायतका उद्देश्यसहित पार्टी नेतृत्वले थालेको अभियानबाट आम कांग्रेसीजनमा उत्साह सञ्चार भएको यादव बताउँछन्। ‘हाम्रो यो अभियान अब हुने निर्वाचन केन्द्रित अभियान हो, हामीसँग धेरै समय छ, राणनीतिक रूपमा यो अभियान निकै उपलब्धिमूलक हुनेछ,’ यादवले भने, ‘कांग्रेस मुलुको सबैभन्दा पुरानो पार्टी हो, फरक ढंगले हामी जनतामाझ आफ्नो अजेन्डाका साथ सशक्त रूपमा पुग्न सक्यौं भने यसलाई पार्टीका लागि ठूलो फाइदा पुग्छ।’

तराईका जिल्ला कुनै बेला कांग्रेसको गढ हुने गर्दथे। तर पछिल्लो केही वर्षयता सांगठनिक रूपमा कमजोर बनेको कांग्रेसको जनाधार पनि खस्किएको छ। फरक विचारधाराका राजनीतिक शक्तिको प्रादुर्भाव, यस भेगलाई प्रतिनिधित्व गर्ने ठूला नेताहरूद्वारा पार्टी परित्याग, आम जनमानसमा वितृष्णालगायतका कारणले कमजोर हुँदै गएको कांग्रेसलाई आफ्नो पुरानो गढमा शसक्त जीवन्तता प्रदान गर्ने सकिने अवसरका रूपमा जागरण अभियानलाई उपयोग गर्ने रणनीति लिएको जानकारहरूको ठम्याइ छ।

तीन चरणको जागरण अभियानअन्तर्गत पहिलो चरणमा सप्तरीमा जेठ १० गतेबाट सुरु हुने सप्तरीका सभापति दिनेशकुमार यादवले जानकारी गराए। यहाँ विमलेन्द्र निधि आउने यादवले बताए। निधि हाल कांग्रेसभित्रको सबैभन्दा ठूलो मधेसी अनुहार हो। एउटा कार्यक्रममा मात्रै नभई प्रायः सबैजसो क्षेत्रीय तथा जिल्लास्तरीय कार्यक्रममा ठूला केन्द्रीय नेता सप्तरीमा मात्रै नभई प्रदेशभरि नै सहभागी हुने योजना रहेको कांग्रेस स्रोतले जनाएको छ। खास गरेर प्रदेश–२ का जिल्लामा कांग्रेसलाई सत्ताधारी दल नेकपाभन्दा मधेस केन्द्रित मानिने राजपा र समाजवादी पार्टीबाट सांगठनिक, राजनीतिक र वैचारिक प्रतिस्पर्धा रहेको छ।
पछिल्लो संसदीय चुनावमा राजपा र फोरमलाई मधेसका कयांै सिटमा प्रत्यक्ष÷अप्रत्यक्ष सघाएका कांग्रेस जागरण अभियानका क्रममा नेकपा जस्तै मधेस केन्द्रित दलप्रति पनि आक्रमक नीति अख्तियार गर्ने कांग्रेसका नेताहरू स्पष्टरूपमा बोलिराखेका छन्। ‘राष्ट्रवादको अजेन्डाका साथ चुनाव लड्ने नेकपा लोकतन्त्र र संविधानकै लागि घातक सिद्ध भइरहेको अवस्था छ, मधेसवादका नाममा राजनीति गर्नेहरू मधेसवादलाई सत्ताको सिंढीका रूपमा मात्रै उपयोग गरिरहेका छन्, ’ सभापति यादव भन्छन्।

राष्ट्रियस्तरमा मात्रै नभई प्रदेश–२ मा पनि कांग्रेसको विकल्प नरहेको प्रदेश २ मा संसदीय दलका नेता रामसरोज यादव वताउँछन्। ‘मधेसको हकमा पहिलो संविधन संशोधन कांग्रेसकै तदारुकताका कारण सम्भव भयो, दोस्रोपटक पनि हामीले संशोधन प्रस्ताव दर्ता गरायांै तर ओलीजी तथा तत्कालिन नेकपा एमालेका कारण त्यो सम्भव हुन सकेन। हामि अहिले पनि संशोधनको मुद्दामा दृढतापुर्वक उभेका छौ’, यादवले भने, ‘तर बिडम्वना संशोधनमा भाँजो हाल्ने तीनै ओलीजी सरकारलाई कथित मधेसवादी भनाउनेहरू सघाइराखेका छन्, सत्ता लिप्साका कारण मधेसको मूल राजनीतिक अजेन्डा पनि उनीहरूले तिलाञ्जली दिइराखेका छन्।’ प्रदेशस्तरमा जनताले दिएको म्यान्डेड र भावनाअनुरूप राजपा–समाजवादी पार्टीको सरकारले काम नगरिरहेको उनको टिप्पणी छ।

सम्भावना सँगसँगै चुनौती

कांग्रेसका ठूला नेताहरू जागरण अभियानप्रति कांग्रेसीजन उत्साहित रहेको प्रतिक्रिया जनाई रहँदा राजनीतिका जानकारहरू भने यो अभियानभित्रको उपलब्धि हासिल गर्नु कांग्रेसका लागि निकै चुनौतीपूर्ण रहेको बताउँछन्। खासगरी प्रदेश–२ अन्तर्गत मधेसका जिल्लामा कांग्रेससँग दोहरो चुनौती रहेको जानकारहरूको टिप्पणी छ।

पाका राजनीतिक विश्लेषक खुसीलाल मण्डल पार्टीभित्रको अन्तर कलह र तराई÷मधेसका आमजनमानसमा कांग्रेसप्रतिको नैराश्यता पार्टीका लागि जागरण अभियानको अपेक्षित उपलब्धि हासिल गर्न दोहरो चुनौती उत्पन्न गर्ने बताउँछन्। ‘कांग्रेसले कयौं दशकदेखि आफ्नो आन्तरिक कलह सुल्झाउन सकेको छैन, केन्द्रदेखि जिल्ला हुँदै गाउँस्तर सम्ममा कांग्रेस विभिन्न गुट भित्रभित्रै बाँडिएको अवस्था छ,’ प्रतिबन्धितकालमै कांग्रेस प्रवेश गरेका मण्डल भन्छन्, ‘यसका अतिरिक्त तराई÷मधेसले कांग्रेसलाई प्रतिबन्धित कालदेखि सघाए पनि यस भेगको विकासमा पार्टीले देखाएको सौतेलो व्यवहारलाई अझै पनि मधेसीहरूले बिर्सेका छैनन्।’ कांग्रेससँगै विरक्त भएर विभिन्न मधेस केन्द्रित राजनीतिक दल निर्माण भएको उनको बुझाइ छ। उनी भन्छन्, ‘कांग्रेस मधेसप्रति जवाफदेही भएको भए गजेन्दबाबुलाई तराई कांग्रेस हुँदै नेपाल सद्भावना पार्टी बनाउने अवस्था आउने थिएन, न त ०६२÷०६३को मधेस आन्दोलननै गर्नुपर्ने वाध्यता आउँथ्यो होला।’

प्रकाशित: १० जेष्ठ २०७६ ०२:५७ शुक्रबार

नेपाली_कांग्रेस साख रणनीति