राजनीति

विज्ञ भन्छन् : नेपालका लागि सकारात्मक

काठमाडौ - भारतमा भारतीय जनता पार्टीले लोकसभा निर्वाचनमा उल्लेख्य मत पाएपछि वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी पुनः सत्तामा जाने निश्चित भएको छ। पहिलोपटक प्रधानमन्त्री हुँदा संविधान निर्माणको विषयलाई लिएर नेपालमा नाकाबन्दी लगाएको, संविधान संशोधनलगायतका विषयमा अनावश्यक चासो राखेको भन्दै आलोचित मोदीको पुनरोदयले आगामी दिनमा नेपालमा कस्तो प्रभाव पर्ला भन्ने चासो हुनु स्वाभाविकै हो। भूकम्पको पीडाबीच मोदी सरकारले ६ महिनासम्म नाकाबन्दी लगाएको नेपालीले बिर्सिएका छैनन्।

भारतीय उच्च नेतृत्वबाट झन्डै दुई दशकसम्म नेपाल भ्रमण नभएको अवस्थामा मोदीले आफ्नो कार्यकालमा चारपटकसम्म नेपाल भ्रमण गरेका कारण कतिपयले उनलाई नेपाललाई उच्च प्राथमिकता दिने नेताको रुपमा पनि हेर्ने गरेका छन्। कूटनीतिक क्षेत्रका जानकारहरु मोदीको पुनरोदयले नेपालमा धेरै फरक नपर्ने बताउँछन्। वर्तमान सरकारको नेतृत्व गरिरहेका मोदीको पुनः सत्तारोहणपछि अहिलेकै भारतीय नीतिले निरन्तरता पाउने उनीहरुको ठम्याइ छ।

भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्याय मोदीको पुनरोदयले नेपाललाई फाइदा नै हुने बताउँछन्। मोदी प्रधानमन्त्री हुनुभन्दा पहिले नेपाललाई भारतको कर्मचारीतन्त्रले हेर्ने गरेकोमा मोदीले त्यसलाई राजनीतिक नेतृत्वबाट हेर्ने प्रणाली विकास गरेको र यो नेपालका लागि राम्रो पक्ष भएको उपाध्यायको विश्लेषण छ। उनी भारतले हामीलाई कसरी हेर्छ भन्ने कुरा नेपालको परराष्ट्र नीतिमा भर पर्ने बताउँछन्। नेपालले आफ्नो परराष्ट्र नीतिलाई परिभाषित गर्न नसकेकाले समस्या भोग्नुपरेको बताउँदै उपाध्यायले भने, ‘हामी जोसँग पनि हुन्छ भन्छौं, हाम्रो परराष्ट्र नीति यस्तो हो भनेर अडान लिन सकेमा अर्काेबाट कुनै समस्या हुँदैन।’

परराष्ट्र मामिलाका जानकार एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई मोदीको पुनरोदय नेपालका लागि सुखद भएको बताउँछन्। पछिल्लो समय नेपाल–भारत सम्बन्धमा उल्लेख्य उपलब्धि भएकाले मोदीको पुनरोदय हाम्रा लागि सकारात्मक भएको उनको विश्लेषण छ। ‘नेपाल–भारत सम्बन्धमा विकसित पछिल्ला उपलब्धिलाई अझ उचाइमा पु¥याउन मोदीजीको पुनरोदयले सहयोग पुग्नेछ,’ उनी भन्छन्। भट्टराई नेपाल र भारतबीचको सम्बन्धमा सुधार हुनु दुवै मुलुकको हितमा हुने बताउँछन्। मोदीको कार्यकालको सुरुआत्मा नेपालले केही समस्या भोगे पनि त्यसैलाई हेरेर धारणा बनाउनु उपयुक्त नहुने बताउँछन्। ‘अब पछि फर्केर हेर्नुभन्दा पनि पछिल्लो समय विकास भएको सम्बन्धलाई सुमधुर बनाउनतर्फ लाग्नुपर्छ,’ उनले भने।

पूर्वराजदूत एवं कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ भने मोदीले अब चाहेर पनि नेपालमा हस्तक्षेप गर्न नसक्ने बताउँछन्। चीनसँग यातायात तथा पारवहन सम्झौतामा हस्ताक्षर भइसकेकाले भारतले नाकाबन्दी लगाउन सक्ने अवस्था पनि नरहेको उनको भनाइ छ। ‘अब नेपाल भारतीय पोल्टामा पर्ने सम्भावना छैन। नाकाबन्दीले भारतलाई नै बदनाम गराएको कुरामा पनि मोदी जानकार हुनुहुन्छ, त्यसैले पहिले जस्तो हस्तक्षेपको सम्भावना छैन,’ श्रेष्ठले भने।

अहिले नेपालमा अमेरिकासँगै चीनको पनि चासो बढेकाले भारतले नेपाललाई भुटानजस्तो बनाउन चाहे पनि त्यो सम्भावना टरेको श्रेष्ठको तर्क छ। उनी मोदीको पुनरागमनले भारतको नेपाल नीतिले निरन्तरता पाउने बताउँछन्। ‘मोदीले अब नेपाललाई आफ्नो पोल्टामा पार्छु भनेर सम्भव छैन, उहाँको प्रयास चीनतर्फ कम ढल्कियोस् भन्नेचाहिं हुनेछ,’ श्रेष्ठले भने। त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति कार्यक्रमका प्रमुख प्राध्यापक खड्ग केसी पनि मोदीको पुनरोदय नेपालका लागि सकारात्मक हुने बताउँछन्। ‘किनभने हामी उनको राजनीति र विदेश नीतिमा अभ्यस्त भइसकेका छौं’, केसीले भने, ‘नेपालको राजनीतिक संस्कार आफ्नै खालको भएको हुनाले धार्मिक अजेन्डाले त्यत्ति धेरै प्रभाव पार्ला जस्तो लाग्दैन।’ नेपाललाई हेर्ने विषयमा मोदीले राजनीतिको कोर्स करेक्सन गरिसकेकाले पहिलेजस्तो नहुने पनि उनको तर्क छ।

चुनावी परिणाम भाजपाका पक्षमा जाने स्पष्ट संकेत देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोन गरी बधाई दिएका छन्। दुई नेताका बीच आगामी दिनमा दुई मुलुकबीचको सम्बन्ध अझ बलियो बनाउने सहमति भएको छन्। नेकपाका अध्यक्ष एवं पूवप्रधानमन्त्री पुष्पकमल दाहालले पनि ट्विटरमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई बधाई दिएका छन्। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक पत्रमार्फत भारतीय प्रधानमन्त्री मोदी र भाजपाका अध्यक्ष अमित शाहलाई बधाई दिएका छन्। यस्तै कार्यवाहक सभापति विमलेन्द्र निधिले पनि मोदी र शाहलाई बधाई दिएको नेपाली कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ।

प्रकाशित: १० जेष्ठ २०७६ ०१:०१ शुक्रबार

लोकसभा_निर्वाचन संविधान भूकम्प