राजनीति

अदालतमै गुण्डागर्दी गर्नेमाथि अवहेलनाको कारबाही सुरू

काठमाडौं– अदालत परिसरभित्रै गुण्डागर्दी गर्दै कानुन व्यवसायी र पक्षलाई मार्ने धम्की दिने दुइजनालाई काभ्रेपलाञ्चोक जिल्ला अदालतले बिहीबार आफैं बयान गर्न उपस्थित हुन आदेश दिएको छ।

जिल्ला न्यायाधीश दिपक कुमार खरेलको इजलासले झापाका विनोद मैनाली र शिवहरी मैनालीलाई अदालतमा गुण्डागर्दी गर्नुको कारण सहित सातदिनभित्र आफैं उपस्थित हुन आदेश दिएको हो।

आइतबार अधिवक्ता अनन्तराज लुईंटेल र उनका सहयोगी एवं मुद्दाका पक्षलाई मुद्दा फिर्ता नलिए मार्ने धम्की दिएपछि मैनालीद्धय विरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको थियो। अंशचलन मुद्दामा लुईंटेलले फरक शारीरिक क्षमता भएका जेष्ठ नागरिक गोपाल प्रसाद मैनाली र बालकृष्ण मैनालीलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएका छन्।

‘मागदावी बमोजिम अदालतको अवहेलनामा किन कारबाही हुन नपर्ने हो सो सम्बन्धमा प्रत्यर्थीहरु विनोद मैनाली र शिवहरी मैनालीलाई बाटोको म्याद बाहेक सात दिनभित्र आफैं लिखित जवाफ सहित उपस्थित हुनु भनी निवेदन र आदेशको प्रति सहितको सूचना दिई लिखित जवाफ परेपछि वा म्याद नाघेपछि नियमानुसार पेश गर्नू’ आदेशमा भनिएको छ।

बहसका क्रममा नेपाल बार एशोसिएशनका पूर्व केन्द्रीय सदस्य अधिवक्ता सागर विष्टले अदालतमै गुण्डागर्दी गरी प्रत्यर्थीहरुले गम्भीर अपराध गरेकाले प्रहरीमार्फत उनीहरुलाई पक्राउ गरी पेश गर्न माग गरेका थिए। 

शारीरिक अपांगतासहित फरक क्षमताका आफ्ना काकाहरुलाई अंश दिननपर्ने दावी गर्दै मुद्दा दायर गरेर कष्ट दिएको आरोप लगाउँदै अधिवक्ता लुइँटेल र उनका सहयोगी एवं पक्षलाई मार्ने धम्की दिने शिवहरी पेशाले क्याम्पसमा अध्यापन गर्छन्।

आइतबार अदालतमा गुण्डागर्दीमा उत्रिएका उनीहरुले प्रधानमन्त्रीसंग आफूहरुको सिधा सम्पर्क रहेकाले मुद्दा फिर्ता नलिएमा वकिलको ल फर्ममा आगो लगाइदिने, लाइसेन्स खारेज गराइदिने र वकिल र मुद्दाका संरक्षकका पतिको हत्या गर्ने धम्की दिएका थिए।

मुद्दा दर्ता गराएर आफूहरुलाई कष्ट दिएको भन्दै आफूहरुको प्रधानमन्त्रीसंग सिधा सम्पर्क रहेकोले जहिलेसुकै र जेसुकै गर्न सक्ने धम्की दिंदै मैनालीद्धयले मुद्दा फिर्ता लिन अधिवक्ता लुईंटेल र पक्षलाई दबाब दिएका थिए। अदालतका फाटवाला कर्मचारीका सामुन्नेमा उनीहरुले मुद्दा फिर्ता नलिए मार्ने धम्की दिएको भन्दै दायर भएको अवहेना मुद्दामा मैनालीद्धयलाई हदैसम्मको कारबाहीको माग गरिएको छ।

बोल्न नसक्ने तथा आँखाको ज्याती गुमेका फरक शारीरिक क्षमताका आफ्ना भाइहरुलाई अंश नदिई घरबाट निकाला गरेको तथा गाईगोठालोको रुपमा जीवन गुजारा गर्नुपरेको दावीसहित ८० बर्र्षीय संरक्षक हिमादेवी उप्रेतीले अंश मुद्दा दायर गरेपछि उनी र उनका पति भरतप्रसाद उप्रेतीलाई समेत मैनालीद्धयले काट्ने तथा मार्ने धम्की दिँदै आएको अवहेनाको निवेदनमा उल्लेख छ। 

पटकपटक फोन गरी एवं नचिनेका मान्छेहरु खटाएर मुद्दा फिर्ता नलिए मार्ने धम्की दिएपछि उप्रेतीले आफ्नै माइती विरुद्ध कारबाही गर्न माग गर्दे जिल्ला प्रहरी कार्यालयमा शान्ति सुरक्षाको माग गर्दै उजुरी दर्ता गराइसकेकी छन्।

प्रकाशित: ९ जेष्ठ २०७६ १३:१२ बिहीबार

अदालत गुण्डागर्दी अवहेलना कारबाही विनोद_मैनाली_र_शिवहरी_मैनाली