राजनीति

दाहालसँग भेटेर बेलायती मन्त्रीले गरिन नेपालको प्रशंसा

ललितपुर– बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सगले आज दिउँसो नेपाल कमयुनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी छिन्। ललितपुरस्थित दाहाल निवास खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका बिषयमा छलफल भएको थियो। भेटमा अध्यक्ष दाहालले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको बताए।

उनले भने ‘आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्यवहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं।’

दाहालले शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको देशको आर्थिक समृद्धिमा नै एक मात्र लक्ष्य रहेको प्रष्ट्याए। देशमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित रहेको बताउँदै दाहालले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको औल्याए।

बेलायतकी मन्त्री सगले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताइन्। उनले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाहरुको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको बताइन।

उनले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको बताइन् ।

प्रकाशित: ८ जेष्ठ २०७६ ११:१९ बुधबार

नेकपा पुष्पकमल_दाहाल मन्त्री_बरोनस_सग