राजनीति

मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिन कांग्रेसको माग

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा पेश गरिएको मिडिया काउन्सिलसम्बन्धि विधेयक संविधानको मूल्य र मान्यता विपरित आएको दाबी गर्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ। कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले संविधानको मूल्य र मान्यता विपरित प्रेस स्वतन्त्रतालाई संकुचन बनाउने गरी ल्याइएको सो विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेकी हुन्।

बुधबार संघीय संसद अन्तरगतको प्रतिनिधिसभा बैठक सुरु हुनासाथ समय लिएर बोल्दै उनले सो विधेयक सरकारले तत्काल फिर्ता नलिए आफ्नो पार्टीले अघि बढाउन नदिने चेतावनी पनि दिइन। सचेतक भुसालले सरकारले संसदमा पेश गरेको सो विधेयक मुलुकको लोकतन्त्रले नचिन्ने र आफूहरुले नबुझ्ने भएकाले त्यसलाई सरकारले संसदबाट फिर्ता गराउनुको विकल्प नरहेको बताइन। मुलुकको लोकतन्त्रले नचिन्ने, हामीले नबुझ्ने सो विधेयक तत्काल फिर्ता लिन हामी सरकारसँग जोडदार माग गर्दछौं’ सचेतक भुसालले भनिन् ‘सरकारले सो विधेयक तत्काल फिर्ता नलिए संसदबाट अघि बढाउन नसक्ने जानकारी गराउँछु।’

सचेतक भुसालले संघीय लोकतान्त्रिक गणतन्त्रलाई भय र त्रासको वातावरण प्रवेश गराउने गरी आएको सो विधेयक आफ्नो पार्टीलाई स्वीकार्य नहुने पनि स्पष्ट पारिन। सरकारले राज्य नियन्त्रित कानुन बनाएर मुलुकलाई अधिनायकवादतर्फ उन्मुख गराउने खोजेको सचेतक भुसालको आरोप थियो।

प्रकाशित: ८ जेष्ठ २०७६ ०६:४५ बुधबार

मिडिया_काउन्सिलसम्बन्धि_विधेयक नेपाली_कांग्रेस बिराेध