राजनीति

मोटरसाइकलको पछाडि बस्नेलेसमेत हेलमेट लगाउनुपर्ने (भिडियाे)

काठमाडौं– काठमाडौँ उपत्यकामा दुई पांग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ। आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै दुई पांग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नियम सुरु गर्न लागेको जानकारी दिएको हो।

काठमाडौँमा हुने दुई पांग्रे सवारी साधनको दुर्घटनालाई विश्लेषण गर्दा हेलमेट लगाएको चालक भन्दा पछाडी बस्ने व्यक्ति घाइते भएको र मृत्यु दर समेत पछाडि बस्नेको बढी भएकोले मोटरसाइकल र स्कुटर पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी बसन्तकुमार पन्तले जानकारी दिए।

महाशाखाले यातायात व्यवस्था ऐनमा संशोधन गरि हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभागमा अनुरोध गरेको जानकारी दिएको छ। यसअघि २०६५ सालमा पनि महाशाखाले दुबै जनाले हेलमेट लगाउनुपर्ने व्यवस्था ल्याएकाे थियाे। ऐनविनै दई हेलमेटको नियम ल्याएको भन्दै विरोध भएपछि महाशाखा हटाउन बाध्य भएको थियो। 

यस्तै महाशाखाले उपत्यकामा सवारी चाप ब्यबस्थित गर्दै कम गर्न मोबाइल एप प्रयोगमा ल्याउने भएको छ। पत्रकार सम्मेलनमा एसएसपी पन्तले जिआइएस प्रविधिमा आधारित एपले उपत्यकाको ट्राफिक जाम, बाटो डाइभर्सन लगायतको महत्वपूर्ण सूचना हरेक १५ मिनेटमा दिने बताए।

यस्तै महाशाखाले विभिन्न नियम मिचेर सवारी चलाएका चालकले तिर्नु पर्ने जरिवाना तिर्न पनि बैंकमा लाइन बस्नु नपर्ने नियम बनाइन लागेको बताएको छ। फिल्डमा खटिएको  ट्राफिक प्रहरीले इ चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट दिनेछ र यो चिटको आधारमा सवारी चालकले इ पेमेन्ट गर्न सक्ने छ।

प्रकाशित: ५ जेष्ठ २०७६ १०:३६ आइतबार

ट्राफिक_प्रहरी मोटरसाइकल हेलमेट