राजनीति

मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी हर्कत : थापा

जाजरकोटको थलह बजारमा आयोजित जागरणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता गगनकुमार थापा। तस्बिर : जनक केसी/नागरिक

जाजरकोट - नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले संसद्मा दर्ता गरेको मिडिया काउन्सिल विधेयक वर्तमान सरकारको प्रेस स्वतन्त्रता विरोधी हर्कत भएको बताएका छन्। प्रेसको स्वतन्त्रताबिना लोकतन्त्र र गणतन्त्रको रक्षा असम्भव भएकाले यसकाविरुद्ध सारा पत्रकार, जनता र लोकतन्त्रका पक्षधर जाग्नुपर्ने नेता उनले बताए।

कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्र्तगत जाजरकोटको छेडागाड नगरपालिकाको थलह बजारमा आयोजना गरिएको आमसभामा बोल्दै उनले प्रधानमन्त्री केपी ओलीले दुनियाँलाई जिस्काउन मिल्ने तर एउटा नागरिक र पत्रकारले गलत कामको विरोधमा लेख्न र बोल्न नपाउने व्यवस्था लोकतान्त्रिक नभएको बताए। दुईतिहाइको दम्भमा सरकार निरंकुश र अलोकतान्त्रिक हर्कत देखाउन उद्यत रहेको नेता थापाले आरोप लगाए।

उनले कांग्रेस चुनाव हारेर कमजोर नभएको बताए। संसद्मा कांग्रेसको उपस्थिति र प्रस्तुतिलाई लिएर पार्टीलाई कमजोर भन्न नहुने उनले बताए। नेता थापाले कांग्रेस कमजोर नभएर जिम्मेवार भएको बताए। संसद्मा थोरै संख्या भयो भनेर सत्ता पक्ष नेकपा र अरुले आफ्नो पार्टीलाइ कमजोर भनेर आलोचना गर्ने गरेको प्रशंग उठाउँदै उनले कांग्रेस कमजोर नभएर गणतन्त्र, संविधान कार्यान्वयन र राजनीतिक मूल्य मान्यताप्रति जिम्मेवार भएको बताए।

जनताको त्याग, बलिदान र संघर्षले प्राप्त गरेको गणतन्त्र संस्थागत विकास र लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि संख्या जे सुकै भए पनि कांग्रेस जिम्मेवार प्रतिपक्षको सशक्त भूमिकामा रहेको थापाले प्रष्ट पारे। उनले जनताको प्रतिनिधिका रूपमा रहेकी राष्ट्रपति विद्यादेवी भन्डारीका केही कामले गणतन्त्रप्रति नै जनताले नकरात्मक धारणा बनाउन थालेको पनि बताए।

प्रकाशित: ३ जेष्ठ २०७६ ०१:४६ शुक्रबार

नेपाली_कांग्रेस गगन_थापा प्रेस_स्वतन्त्रता मिडिया_काउन्सिल