राजनीति

पाठकले एक घन्टामै बुझाए ७८ लाख धरौटी

काठमाडौं - घुस मुद्दामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक विशेष अदालतको आदेशपछि तारेखमा बस्न थालेका छन्। अदालतबाट ७८ लाख रुपैयाँ धरौटी राखी तारेखमा बस्न आदेश आएको एक घन्टाभित्रै उनले नेपाल बंगलादेश बैंकबाट सो परिमाणको रकमका लागि बैंक ग्यारेन्टी धरौटी बुझाएका थिए।

विशेष अदालतका अध्यक्ष एवं न्यायाधीश बाबुराम रेग्मी, न्यायाधीशहरू द्वारिकामान जोशी, प्रमोदकुमार श्रेष्ठ वैद्यको इजलासले थुनछेक बहसमा पाठकलाई घुस मुद्दामा बिगो मागेजति रकम बुझाएर तारेखमा बस्न बुधबार आदेश दिएको हो। एक महिनाभित्र उपस्थित हुन भन्दै पत्र पठाएपछि पाठक म्यादभित्रै उपस्थित भएका हुन्। पाठकलाई बयान लिई अदालतमा सरकारी वकिल र पाठकका वकिलले थुनछेक बहस गरेका थिए। भ्रष्टाचार नियन्त्रणका लागि बनेको अख्तियारकै जिम्मेवार व्यक्ति आयुक्त पाठकले घुस लिएको विषय सार्वजनिक रूपमा निकै आलोचना भएको थियो। त्यसपछि अख्तियारले आफ्नै आयुक्तविरुद्ध चैत १२ मा विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। भक्तपुरमा रहेको नेपाल इन्जिनियरिङ कलेजको करिब डेढ अर्ब रुपैयाँको सम्पत्ति हडप्ने विषयमा देखिएको विवादमा अख्तियारका आयुक्त पाठकले ७८ लाख रुपैयाँ घुस लिएको सञ्चारमाध्यमबाट सार्वजनिक भएको थियो।

घुस लिएको अडियो र भिडियो सार्वजनिक भएपछि पाठकले अख्यिारको आयुक्त पदबाट राजीनामा दिएका थिए। त्यसपछि पाठकमाथि मुद्दा चलाउन अख्तियारमै नैतिक दबाब परेको थियो। अख्तियारका सहसचिव रामेश्वर दंगालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरी पाठकविरुद्ध अनुसन्धान गरी मुद्दा चलाइएको थियो।

इन्जिनियरिङ कलेजको विवाद अख्तियारमा आएपछि मिलाइदिने बहानामा पाठकले घुस लिएका थिए।

बुधबार विशेष अदालतमा भएको थुनछेक बहसमा सरकारका तर्फबाट मुरारी पौडेललगायतले बहस गरेका थिए। सरकारी वकिलबाट पाठकलाई ७८ लाख बिगो दाबी गरिएको र थप सजायसमेत माग गरिएको थियो। पाठकलाई ६ वर्ष आठ महिना कैद र थप तीन वर्ष कैद हुनुपर्ने माग गरिएको थियो। पाठकका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता रमणकुमार श्रेष्ठ, कानुन व्यवसायी डिल्लीरमण आचार्य र सूर्य भण्डारीले बहस गरेका थिए। बहसका क्रममा पाठकका कानुन व्यवसायीले संवैधानिक अंगका पदाधिकारीले गलत काम गरे संसद्मा महाअभियोग लगाउनुपर्ने तर मुद्दा दर्ता गर्न नमिल्ने जिकिर गरेका थिए। भिडियो र अडियो तयार पार्नेले पाठकको अनुमति नलिई गरेकाले फौजदारी अपराध भएको भन्दै प्रमाण पुग्न नसक्ने दाबी गरेका थिए। ‘अनधिकृत रूपमा लिइएको भिडियो, अडियो प्रमाण हुन सक्दैन,’ पाठक पक्षका कानुन व्यवसायीले भने। वरिष्ठ अधिवक्ता श्रेष्ठले अख्तियारका आयुक्तको मुद्दा विशेष अदालतले हेर्न नपाउने भन्दै क्षेत्राधिकारमा समेत प्रश्न उठाएका थिए।

घुस प्रकरण कसरी बाहिर आयो ?
इन्जिनियरिङ कलेजको विवाद अख्तियारमा आएकाले मिलाइदिने बहानामा पाठकले घुस लिएका थिए। घुस दिने पक्षले अडियो, भिडियोसमेत खिचेर सार्वजनिक गरेपछि राजीनामा दिन पाठकमाथि नैतिक दबाब परेको थियो। भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवाद मिलाइदिन सञ्चालक समितिका अध्यक्ष लम्बोदर न्यौपानेसँग उनले ७८ लाख रुपैयाँ घुस लिएका थिए।

२०७४ भदौमा कलेज सञ्चालक समितिका अध्यक्ष न्यौपानेबाट दुईपटक गरी पाठकले रकम लिएको आरोप लगाइएको थियो। प्रतिव्यक्ति पाँच लाख रुपैयाँका दरले पैसा उठाएर ३५ लाख रुपैयाँमा चाँगुनारायणमा नेपाल इन्जिनियरिङ कलेज स्थापना भएको थियो। २०५१ असोज ९ मा त्रिभुवन विश्वविद्यालयबाट कलेजले सम्बन्धन पाए पनि हाल पोखरा विश्वविद्यालयको सम्बन्धनमा रहेको छ। कलेज सञ्चालकमा विवाद भएपछि दुई गुटमा बाँडिएका छन्। प्रा. दीपक भट्टराई, पूर्वउद्योगमन्त्री रहेका हरिप्रसाद पाण्डे एउटा गुटमा छन्। कलेजका सञ्चालक भट्टराई २०५१ सालदेखि २०६७ सम्म प्रिन्सिपल भएर काम गरेका उनले जग्गा र सेयर आफ्नो बनाउन अनेक प्रयास गरेका थिए।

त्यसैगरी कलेज सञ्चालक लम्बोदर न्यौपाने, इन्जिनियर लवराज भट्टराई, रामरत्न उपाध्याय, सूर्यबहादुर केसी, उपेन्द्र गौतम अर्को गुटमा देखिएका छन्। कलेजका नाममा रहेको ३६ रोपनी जग्गा रहेको थियो। तत्कालीन चाँगुनारायण गाविसले २०५६ पुस १५ मा एक सय ७४ रोपनी जग्गा कलेजलाई भोगचलन गर्न दिएको थियो।

प्रकाशित: २ जेष्ठ २०७६ ०२:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App