राजनीति

मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु

भक्तपुर- भक्तपुरमा मुख्यमन्त्री–जनता स्वास्थ्य परीक्षण कार्यक्रम सुरु गरिएको छ। प्रदेश नं. ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले भक्तपुर अस्पतालमा बुधबार कार्यक्रमको उद्घाटन गरे।

कार्यक्रममा मन्त्री दुलालले जनताको गुणस्तरीय स्वास्थ्य सेवाका लागि प्रदेश सरकारले कुनै कञ्जुस्याइ नगर्ने बताए। यसका लागि पर्याप्त बजेट व्यवस्था गर्ने र आगामी वर्षहरूमा पनि जनता लक्षित प्रभावकारी स्वास्थ्य कार्यक्रम ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रदेश सरकारको ३५ अर्ब बजेटमा ६ अर्ब पनि खर्च नहुनुमा आश्चर्य व्यक्त गरे। प्रमुख प्रजापतिले केन्द्र र प्रदेश सरकारको नीतिको कार्यान्वयन स्थानीय तहले गर्नु प्रभावकारी हुने बताए। प्रजापतिले सरकारी अस्पतालमा राम्रो उपचार हुन सके निजी अस्पताल तथा नर्सिङ होमहरू घट्ने बताए।

भक्तपुर नगरपालिकाले घर–घरमा नर्सिङ सेवा सुरु गरेको जानकारी दिंदै प्रमुख प्रजापतिले नगरपालिकाभित्रका ३ वटा जनस्वास्थ्य केन्द्रमार्फत् जनताको सेवा गरिरहेको र यसै वर्षदेखि भक्तपुरमै आँखाको शल्यक्रिय पनि सुरु गरिसकेको जनाए। उनले ख्वप अस्पतालको निर्माण कार्य तीव्र रुपमा अगाडि बढिरहेको जानकारी पनि गराए।

कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुधा देवकोटा, भक्तपुर जिल्ला समन्वय समितिका प्रमुख नवराज गेलाल, सामाजिक सुरक्षा कार्यक्रमका सम्पर्क व्यक्ति कुमारप्रसाद दाहालले विश्वमा नसर्ने रोगले धेरैको ज्यान गइरहेको जानकारी गराए।

प्रकाशित: १ जेष्ठ २०७६ ०८:३० बुधबार

प्रदेश_३ स्वास्थ्य_परीक्षण जीवन स्वास्थ्य