राजनीति

प्रदेश सभा बैठकमा राजधानीबारे जुहारी

प्रदेश सभा बैठक अवरुद्ध गर्दै कांग्रेस सांसद। तस्बिर : नागरिक

हेटौंडा- प्रदेश नम्बर ३ को अधिवेशनमा सफलताको शुभकामना मन्तव्य व्यक्त गर्ने क्रममा समेत सत्ता पक्ष र प्रतिपक्षबीच जुहारी चलेको छ। सत्ता पक्ष र प्रतिपक्षका मन्त्री र सांसदहरुले एकअर्काप्रति कटाक्ष समेत गरे।

नेकपाका संसदीय दलका उपनेता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको राजधानीको विषय पेचिलो बनेको बताएका थिए। ‘विधी र प्रकृयाको हिसाबले प्रदेश सभा सार्वभौम छ,’ उनले भने, ‘राजनीतिक निर्णयमा पनि भर पर्छ, प्रदेश सरकारबाट पनि कसरत भएको छ।’

स्थायी राजधानीको मुद्दा अभिलम्ब टुङ्ग्याउनुपर्ने भन्दै उनले सबैको साझा मुद्दा भएको समेत बताए। ‘सकेसम्म सहमतीय विधि र प्रकृयाबाट स्थायी राजधानी तोक्नुपर्छ,’ उनले भने, ‘बर्षे अधिवेशनमै भएपछि राजधानीको बिषयलाई चाँडै टुङ्ग्याउनुपर्छ।’

यता, कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले राजधानी र नाम चाँडै तय गर्ने भनेर सत्तापक्षले पटक–पटक ढाँटेको भन्दै तिब्र असन्तुष्टी जनाएका थिए। ‘स्थायी राजधानी पेचिलो होईन, प्रतिष्ठाको बिषय हो,’ मन्त्री जम्कट्टेलप्रति लक्षित गर्दै उनले भने। प्रदेश सभामा सत्तापक्ष नेकपाको दुई तिहाई भन्दा बढी (करिब ८१ प्रतिशत) मत भएपनि राजधानी र नाम तोक्न किन सकेन भन्दै उनले प्रश्न गरे। ‘प्रतिपक्षले विरोध गरेपछि केही हुँदैन,’ उनले भने, ‘तर राजधानी टुङ्ग्याउन नसक्ने सरकारसँगै प्रदेश सभाप्रति नकारात्मक बढ्दैछ।’

औद्योगिक बर्ष, रोजगारी बृद्धी, मुख्यमन्त्री स्वास्थ्य कार्यक्रम, पशु अनुदानको उपलब्धीबारे उनले सरकारसँग जवाफ माग गर्दै प्रदेश प्रहरीबारे मौन रहेको प्रदेश सरकारले संघीय प्रहरीलाई एक अर्बको भवन बनाई दिएकोमा असन्तुष्टी समेत जनाए।

लामो दवाव पछि प्रदेश सभामा प्रतिबेदन पेश भएपनि झण्डै तीन महिनापछि असोज २२ गते मात्र स्थायी राजधानी सम्बन्धी प्रतिवेदन प्रदेश सभा बैठकमा पेश भएको थियो। प्रदेश सभाबाट गठित विशेष समितिले असार २६ गते सभामुख सानुकुमार श्रेष्ठलाई प्रतिवेदन बुझाएको थियो।

प्रदेश राजधानी सम्भाव्यता अध्ययन विशेष समितिले बर्णानुक्रम अनुसार काभ्रे, चितवन, नुवाकोट, भक्तपुर र मकवानपुरलाई उपयुक्तताका आधारमा स्थायी राजधानीका लागि सिफारिस गरेको छ।

नेपालको संविधानको धारा २८८ को उपधारा २ मा प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले निर्णय गर्ने उल्लेख छ। कूल एक सय दश सांसद रहेको प्रदेश सभामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ८१ (तत्कालिन एमालेको ५८, माओवादी केन्द्रको २३), नेपाली काँग्रेसको २१, तत्कालिन विवेकशील साझा पार्टीको ३, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को २, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), र राप्रपा (प्रजातान्त्रिक) का १–१ जना साँसद रहेका छन्।

 

प्रकाशित: ३० वैशाख २०७६ ११:३१ सोमबार

प्रदेश_सभा राजधानी कांग्रेस नेकपा