राजनीति

पार्टीको एकलौटी निर्णयमा प्रदेश राजधानी घोषणा हुँदैनः ओनसरी

रूपन्देही- पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) प्रदेश नं ५ का अध्यक्ष ओनसरी घर्तीले पार्टीको एकलौटी निर्णयमा प्रदेशको राजधानी घोषणा नगर्ने बताएकि छिन्।

प्रदेश राजधानीको निर्णायक अधिकार जनतामै रहेको स्पष्ट पार्दै उनले प्रदेशका जनता र सबै दलको सुझावका आधारमा राजधानी र नामकरणको टुङ्गो लगाउने बताइन।

रिपोटर्स क्लब नेपाल प्रदेश नं ५ ले आज बुटवलमा आयोजना गरेको साक्षात्कारमा उनले प्रदेशसभाका सदस्यले जनताको राय लिएर मात्रै राजधानीको टुङ्गो लगाउने धारणा राखिन्। मुलुक नयाँ संरचनाको अभ्यासमा रहेकाले प्रदेश राजधानीको टुङ्गो लाग्न समय लागेको उनको भनाइ छ।

अध्यक्ष घर्तीले नेपालको साधन स्रोतमा नेपाली जनतालाई मालिक बनाउने प्रयासस्वरुप सरकारले नीति कार्यक्रम सार्वजनिक गरेको बताइन।  उनले पार्टीभित्र कुनै समस्या नरहे पनि शान्ति र स्थायित्व नचाहनेले  अनावश्यक हल्ला चलाउने गरेको तर्क गरिन्।

सरकारले ल्याएको मिडिया विधेयकबारे पत्रकारले राखेको जिज्ञासामा उनले मिडियामाथि अङ्कुश लगाउने सरकारको नियत नभएको बताइन। उनले पत्रकारले स्वतन्त्रपूर्वक काम गर्न पाउनुपर्ने भन्दै विधेयक त्रुटीपूर्ण भए सच्याएर जान सकिने बताइन। रासस

प्रकाशित: २९ वैशाख २०७६ ०७:०० आइतबार

नेकपा ओनसरी_घर्ती प्रदेश_राजधानी