राजनीति

‘ओलीले प्रधानमन्त्री पदकै अपमान गरे’

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओलीले प्रधानमन्त्री पदकै अपमान गरेको आरोप लगाएको छ। पार्टीले बुधबारबाट सुरु गरेको राष्ट्रिय जागरण अभियानका विषयमा केन्द्रीय कार्यालय सानेपामा बिहीबार आयोजीत पत्रकार सम्मेलनमा उपसभापति विमलेन्द्र निधिले लोकतान्त्रिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रधानमन्त्री ओलीले असंसदीय र अलोकतान्त्रिक संकार देखाएर पदकै अपमान गरेको दाबी गरेका हुन्।

संसद्मा प्रमुख प्रतिपक्षीले आफ्नो अपमान गरेको प्रधानमन्त्री ओलीले बताइरहेका बेला उपसभापति निधिले भने, ‘कांग्रेसले प्रधानमन्त्रीको अपमान होइन, उहाँले प्रतिपक्षी कांग्रेसको मात्र नभएर संसद, जनता र लोकतान्त्रिक प्रणालीबाट निर्वाचित प्रधानमन्त्री पदको अपमान गर्नु भएको छ।’
जनताका प्रतिनिधिले संसद्मा राखेको प्रश्नलाई निम्छरो भन्दै प्रधानमन्त्रीले आम जनतालाई अपमानित गरेको आरोप लगाउँदै निधिले विगतमा आफूले राखेका धारणा सम्झन पनि ओलीलाई आग्रह गरे। ‘ठन्डा दिमाग भएका बेला प्रधानमन्त्रीले आफ्ना पुराना मन्तव्य र अन्तर्वार्ता हेर्दा थाहा पाउनुहुन्छ, के कुरा मर्यादित हुन्, के कुरा होइन,’ निधिले भने।

प्रधानमन्त्रीले मंगलबार संसद्मा राखेको धारणा गैरसंसदीय भएको जिकिर गर्दै निधिले संसदलाई मर्यादीत बनाउने जिम्मेवारीबाट सभामुखसमेत चुकेको उनले आरोप लगाए। ‘गैरसंसदीय शब्द बोले सभामुखले तत्कालै मेटाउन निर्देशन दिने बिश्वव्यापी चलन हो,’ उनले भने, ‘सभामुख कृष्णबहादुर महाराले त्यसलाई हटाउन निर्देशन नदिनुुको साटो प्रतिपक्षी उठिरहेका बेला नीति तथा कार्यक्रम निर्णयार्थ पेस गर्नु अनौठो हो।’
बुधबारबाट सुरु भएको पहिलो चरणको जागरण अभियानले पार्टीमा नयाँ रक्तसञ्चार गर्ने कांग्रेसले जनाएको छ। हिमाली जिल्लाहरूदेखि तराई–मधेससहित सुगम शहरहरूदेखि दुर्गम गाउँसम्म अभियान उत्साहपूर्णरुपमा सुरु भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। पहिलो चरणको अभियान जेठ २५ गतेसम्म चल्नेछ।

प्रकाशित: २७ वैशाख २०७६ ०२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App