राजनीति

सिंहलाई पण्डितकाे काउण्टर

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले जथाभावी कर्मचारी सरुवा गर्ने परिपाटी तत्काल अन्त्य गर्न सरकारसँग माग गरेका छन्। प्रतिनिधिसभाका सांसदसमेत सिंहले २ वर्षसम्म कर्मचारी सरुवा नगर्ने कानुनी व्यवस्था किन उलंघन गरेको? भन्दै सरकारलाई प्रश्न गरेका थिए।

बिहीबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको दफावार छलफलमा भाग लिँदै उनले सरकारले ऐन उलंघन गरेर कर्मचारी सरुवा गर्ने काम गर्न नपाउने पनि स्पष्ट पारे। सांसद सिंहले समितिमा छलफल भईरहेको सो विधेयक कर्मचारीहरुले आफू खुशी तयार पारेको देखिएको उल्लेख गर्दैै आपत्ति पनि जनाए।

 त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले भने कानुनसम्मत ढंगले कर्मचारी सरुवा हुने गरेको जवाफ दिए। उनले कानुन र नियमावलीमा स्पष्ट नभएको कुरालाई भने सरकारले आवश्यक नीतिगत निर्णय लिएर अघि बढाउने पनि स्पष्ट पारे। मन्त्री पण्डितले कर्मचारीको सेवा र सर्तसम्बन्धि कानुनी व्यवस्थालाई अझै स्पष्ट बनाउन सरकारले सो विधेयक ल्याएको पनि बताए।

प्रकाशित: २६ वैशाख २०७६ १०:२२ बिहीबार

राज्य_व्यवस्था_तथा_सुशासन_समिति कर्मचारी_सरुवा अमरेशकुमार_सिंह लालबाबु_पण्डित