राजनीति

सूर्य चिह्नबाट चुनाव जितेका त्रिपाठी र गुप्ता कसका सांसद ?

काठमाडौं– २०७४ मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा मधेसको राजनीतिबाट खारिएका हृदयेश त्रिपाठीसहित चार नेता मधेसको राजनीति छाड्दै मूलधारमा आए।

उनीहरूले तत्कालीन एमालेको चुनाव चिह्न लिँदै चुनावपछि एमालेमा प्रवेश गर्ने संकेत गरे। राजपाका तत्कालीन अध्यक्षमण्डलको स्थायी आमन्त्रित सदस्य त्रिपाठीसहित, महासचिव बृजेशकुमार गुप्ता, नेताहरू पशुपतीदयाल मिश्र, ईश्वरदयाल मिश्र र जगदीश सुक्ल थिए।

उनीहरूमध्ये नवलपरासी पश्चिम क्षेत्र नम्बर १ बाट त्रिपाठी र कपिलवस्तु–२ बाट गुप्ता निर्वाचनमा विजयी भए। यस्तै, बाँके–२ बाट निर्वाचन लडेका पशुपतिदयाल र  कपिलवस्तु–३ बाट निर्वाचनमा प्रतिस्पर्धा गरेका ईश्वरदयाल पराजित भए। शुक्लाले भने चुनावमा प्रतिस्पर्धा नै गरेनन्।

आन्दोलनमा रहेको राजपाले दोस्रो स्थानीय तह निर्वाचन राजपाले बहिस्कार गर्ने रणनीति बनाएपछि त्रिपाठीसहितका केही नेताले पार्टी नै परित्याग गरे। त्रिपाठीसहितका नेताले निर्वाचनलाई आन्दोलनको रूपमा सदुपयोग गर्नुपर्ने धारणा राखेका थिए।

तर उनीहरूको कुरालई पार्टीले बेवास्था गरेपछि पार्टी नै छाडेर तत्कालीन एमालेसँग सहकार्य गर्न पुगे। अन्ततः सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा नै गरे। त्यसबेला स्वतन्त्र राजनीति समूहको नाम दिएको यस समूहसँग तत्कालीन एमालेले लिखित सहमति नै ग-यो।

तराई मधेसका जनतालाई शोषण, उत्पीडन विभेद असमानबाट मुक्त गरेर न्याय समानता र समृद्धि सुनिश्चित गर्नुपर्ने, संविधान कार्यान्वयनका क्रममा देश र जनताको आवश्यकताअनुसार परिमार्जन र विकास गर्दै जानुपर्नेलगायत सहमति थियो। तर सहमति भने अहिलेसम्म पनि कार्यान्वयन हुन सकेको छैन।

उनीहरूले सूर्य चिह्नबाट निर्वाचनमा प्रतिस्पर्धा गरेपछि नेकपामा प्रवेश गर्ने चर्चा थियो। यी नेताहरूले नेकपा प्रवेशका लागि वार्ताको प्रयास पनि गरे। तर अहिलेसम्म सम्भव भएको छैन। त्रिपाठी नेतृत्वको स्वतन्त्र समूहका नेताहरू भने नेकपामा आउन अहिले पनि चाहिरेका छन्। ‘अहिले त यो विषयमा केही भएको छैन’, सांसद त्रिपाठीले भने, ‘हामीले केही सैद्धान्तिक र राजनीतिक माग अघि सारेका छौं। वार्तामा आएर पूरा गरे नेकपामा जान तयार छौं।’

निर्वाचनमा सूर्य चुनाव चिह्नबाट प्रतिस्पर्धा गरेका यी सांसद कुन दलका हुन् भन्ने प्रश्न भने अहिले पनि आइरहन्छ। त्रिपाठी र गुप्ता भने आफूहरू सत्तापक्षको भएको स्वीकार गर्छन्। ‘हामी सांसद त सत्तापक्षकै हौं’, त्रिपाठीले भने, ‘तर सत्तापक्षले जारी गरेको ह्विप हामीले मान्नुपर्छ भन्ने जरुरी छैन।’

 

प्रकाशित: २४ वैशाख २०७६ १३:३६ मंगलबार

सूर्य_चिह्न तत्कालीन_एमाले मधेसको_राजनीति