राजनीति

सिमसार पुर्ने काम रोकिनुपर्छ : मुख्यमन्त्री

फेवातालको माटोले पुरिएकाे सिमसार क्षेत्र

पोखरा - मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले फेवातालको सिरानमा रहेको सिमसार क्षेत्र पुर्ने काम रोकिनुपर्ने बताएका छन्। ‘फेवातालको माटोले सिमसार क्षेत्र पुरिँदै’ भन्ने शीर्षकको समाचार नागरिक दैनिकमा प्रकाशित भएपछि सोमबार सिमसार क्षेत्र अवलोकन गर्न पुगेका मुख्यमन्त्री गुरुङले सिमसार क्षेत्र बचाउनुको सट्टा पुर्न थालेकोप्रति दुःख व्यक्त गर्दै यो तत्काल रोकिनुपर्ने बताएका हुन्। ‘सिमसार संरक्षण गरेर रामसार सूचीमा राखेका बेला पुरिनु राम्रो भएन,’ उनले भने, ‘यो रोकिनुपर्छ, यसबारे महानगरसँग कुराकानी हुन्छ।’

मुख्यमन्त्री गुरुङले महानगरपालिकाले फेवातालको माटो उत्खनन् र सिमसार पुर्ने काम हतारमा गरेको टिप्पणी गरे। सर्वोच्चको फैसलाअनुसार फेवातालको सिमांकन गरेर पिलर गाडेपछि मात्रै गर्नुपर्ने काम अहिले नै महानगरले हतार गरेर फेवातालको माटो उत्खनन् र सिमसार पुरिरहेको भन्दै उनले भने, ‘योजनावद्ध त होइन होला, तर माटो निकाल्ने, पुर्ने काममा अहिले नै किन हतार गर्नु परेको हो महानगरलाई ?,’ उनले फेवातालको सिमांकन भइसकेपछि त्यस सीमाभित्रको माटो निकाल्ने काम सम्बन्धित निकायले गर्ने बताए। पछि गर्नुपर्ने काम महानगरले फेवातालको माटो हतारमा निकालेर राम्रो गरे पनि सिमसार पुरेर उल्टो काम गरेको टिप्पणी गरे। ‘हामीले फेवातालको सिरान क्षेत्रमा सिल्ट्रेसन चेक ड्याम निर्माण गर्ने भनेका छौं,’ उनले भने, ‘तर बीचमै महानगरले पुर्नु दुःखद् हो, थुप्रिरहेका चिज त अन्त लगेर फाल्ने भनिरहेका छौं भने ताल वा सिमसार पुर्ने काम चाहिँ राम्रो भएन।’ सिमसारको संरक्षण गर्नुपर्ने जिम्मा पाएको स्थानीय सरकारको रूपमा रहेको महानगरले संरक्षणको सट्टा मास्दै लैजाने हो भने संरक्षणको अर्थ नहुने उनले टिप्पणी गरे।

फेवाताल संरक्षणका लागि प्रदेश सरकार र महानगरपालिकाले सिल्ट्रेसन चेक ड्याम निर्माण गर्ने निर्णय भइसकेको छ। फेवातालको मुख्य स्रोतको रूपमा रहेको हर्पनखोला, खहरेखोला र अँधेरीखोलामा चेकड्याम निर्माण गर्न जसका लागि ३३ करोड ९० लाख रुपैयाँको बजेट चुट्याइएको छ। जसमा प्रदेश र महानगरले ५०÷५० प्रतिशत बजेट हाल्नेछन्। मुख्यमन्त्री गुरुङले सिमसार क्षेत्रको संरक्षणको जिम्मा महानगरको भए पनि त्यसलाई सघाउन प्रदेश सरकारले सहकार्य गरिरहेको बताए। उनले सिमसार क्षेत्रको संरक्षण गर्नु सबैको दायित्वको भएकाले त्यसतर्फ ध्यान दिन पनि आग्रह गरे।

महानगरपालिकाले फेवातालको गहिराइ बढाउने भन्दै फेवातालबाट माटो निकालिरहेको छ। तर त्यो निकालेको माटोले सिमसार क्षेत्र धमाधम पुरिदैछ। घडेरी बनाउनका लागि सबैतिर सिमसार भएको ठाउँको बिचमा लगेर पुर्ने काम धमाधम भइरहेको हो। तालको जलाधार क्षेत्रको सिरान खपौंदी क्षेत्रमा पोखरा महानगरपालिकाले जेसिभी प्रयोग गरेर ताल गहिराउने काम गरिरहेको छ। सोहि माटो खपौंदीभन्दा केहिमाथि पामे बजार नजिकको पहिलेको डुंगाघाट अर्थात् समर्खु भन्ने ठाउँको सिमसार क्षेत्र पुर्ने काम भइरहेको छ। हालसम्म झण्डै ४ सय ट्रक माटो त्यस क्षेत्रमा हालिसकेको छ। सिमसार पुर्ने काम अरु कसैले नभई पोखरा महानगरपालिका आफैंले गरिरहेको हो। सिमसार पुर्ने काम अहिले पनि रोकिएको छैन।

फेवातालको माटो निकाल्ने जिम्मा पाएको रिच पोखरा कन्स्ट्रक्सनले भने फेवाताललाई असर नपर्नेगरी तालको माथिल्लो भागमा तालबाट निकालिएको माटो फाल्ने गरेको बताउँदै आएको छ। रिच पोखरा कन्स्ट्रक्सनका सञ्चालकमध्येका एक पोषण थापाले भने, ‘महानगरकै स्वीकृतिमा हामीले तालको माथिल्लो भागमा माटो लगेर फालेका हौं, फालेको माटो तालसम्म नआइपुगोस् भनेर हामी सचेत छौं, त्यसैले पनि हामीले समर्खु क्षेत्र रोजेका हौं।’

प्रकाशित: २४ वैशाख २०७६ ०२:४६ मंगलबार

पृथ्वी_सुब्बा_गुरुङ फेवाताल सिमसार_क्षेत्र