राजनीति

विप्लवका इञ्चार्जसहित चार जना पुर्पक्षका लागि जेल चलान

संखुवासभा– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहका जिल्ला इञ्चार्जसहित चार जना जेल चलान भएका छन्। चन्द समूहका सङ्खुवासभा इञ्चार्ज देव गुरुङ, जिल्ला सदस्य सुनिता राई, सुजन विक, सञ्जय तामाङलाई पुर्पक्षका लागि जेल चलान गरिएको जिल्ला अदालत चैनपुरका सूचना अधिकारी गोविन्द कार्कीले जानकारी दिए।

प्रहरीले गुरुङलाई गत चैतमा काठमाडौंबाट पक्राउ गरेको थियो। इञ्चार्ज देव र सुनितालाई अरुण तेस्रो जलविद्युत् परियोजनामा विष्फोट गराएको आरोप लागेको छ भने अन्य दुई जनालाई हातहतियार खरखजना तथा सङ्गठित अपराधको मुद्दा लागेको थियो। अर्का जिल्ला सदस्य बुद्धिमान तामाङ भने रु ४० हजार धरौटी बुझाउन नसकेकाले कारागार चलान भएको जिल्ला अदालतले जनाएको छ। बुद्धिमानलाई हातहतियार खरखजना तथा सङ्गठित अपराधको मुद्दा दर्ता भएको थियो। प्रहरीले अहिलेसम्म सङ्खुवासभाका विभिन्न स्थानबाट विप्लवका नौ जना कार्यकर्ता पक्राउ गरेको छ। रासस

प्रकाशित: २३ वैशाख २०७६ १३:५९ सोमबार

नेत्रविक्रम_चन्द_विप्लव जिल्ला_इञ्चार्ज जेल_चलान