राजनीति

अन्तत: एक हुने भए बाबुराम र उपेन्द्र

काठमाडाैं - बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालबीच एकीकरण हुने निश्चित भएको छ।

एकीकृत पार्टीको नाम ‘समाजवादी पार्टी नेपाल’ राखिएको छ। डा. भट्टराई र उपेन्द्र यादव दुवै अध्यक्ष हुनेछन्।शनिबार नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा दुई पार्टीको बैठक बसेको थियो।

उक्त छलफलले वैशाख २३ गते सोमबार पार्टी एकता घोषण गर्ने सहमति भएको यादव र भट्टराईद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ। लामो समयदेखि एकताको विषयलाई लिएर दुई पार्टीबीच निकै रस्साकस्सी भए पनि यो विषय केही दिनदेखि झनै चर्चामा थियो।

दुई पार्टीका शीर्ष नेताहरुबीच केही दिनयता पार्टी एकताको विषयलाई लिएर पटक पटक वार्ता र छलफल चलेको थियो। अब बन्ने पार्टीमा भट्टराई र यादव दुवै अध्यक्ष हुने बताइएको छ।

संघीय परिषद अध्यक्ष भट्टराई हुन् र केन्द्रीय समितिको अध्यक्षता यादवले गर्ने सहमति भएको छ। वरीयताक्रममा भने भट्टराई शीर्ष रहनेछन्।

बाबुराम_भट्टराई उपेन्द्र_यादव पार्टी_एकता