राजनीति

हिमाल आरोहणमा कर्मचारी नेताको हालीमुहाली

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अधिकृत तीर्थ चापागाईं र निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनका केन्द्रीय सदस्य तथा नेपाल निजामती कर्मचारी युनियन (संघ) का नेता विश्वबन्धु रेग्मीले फेसबुक स्टाटसमा ‘गन्तव्य सगरमाथा’ लेख्दै सम्पर्क अधिकारी (लियोजन अफिसर) का रूपमा मंगलबारदेखि सगरमाथा आरोहणका लागि यात्रा सुरु गरे। उनीहरू सगरमाथाको चुचुरोमा पुग्नेमा भने सायदै विश्वास गर्न सकिन्छ। चुचुरोमा पुगेनन् भने पनि लियोजन अफिसरका रूपमा उनीहरूले सबै सेवासुविधा चाहिँ पाउनेछन्।

सम्पर्क अधिकृत भई हिमाल आरोहणमा जाँदा आरोहण दलबाट एकपटकमा तीन हजार अमेरिकी डलर (झन्डै साढे तीन लाख) भन्दा माथि सुविधा पाउने व्यवस्था छ। यसबाहेक दैनिक पाँच सय रुपैयाँ भत्ताको पनि व्यवस्था छ। ६ हजार पाँच सय मिटरभन्दा माथिका हिमाल आरोहरणमा जाने समूहमा एकजना सरकारी कर्मचारी सम्पर्क अधिकारीका रूपमा जानुपर्ने कानुनी व्यवस्था छ। हिमाल आरोहणका क्रममा सम्पर्क अधिकारी बिरामी भए या लेक लाग्यो भने बीच बाटोबाटै फर्कन सक्ने व्यवस्था छ। यही व्यवस्थालाई दुरुपयोग गर्दै हिमाल आरोहरणमा जाने अधिकांश लियोजन अफिसर हिमाल आरोहणका क्रममा एक÷दुई दिन मात्र बस्छन्, ‘बिरामी भएँ’ भन्दै बीच बाटोबाटै फर्कन्छन्। तर पनि उनीहरूको तोकिएको सुविधा कट्टा हुँदैन।

पर्यटन मन्त्रालयका एक कर्मचारी भन्छन्, ‘एकातिर एक÷दुई दिन हिमाल आरोहणको रोमाञ्चाक यात्राको अवसर पनि पाइने, अर्कोतिर तीनदेखि साढे तीन लाख रुपैयाँ पाउने भएपछि निजामती कर्मचारीहरूका लागि लियोजन अफिसर हुन हरेक वर्ष होडबाजी नै हुने गर्छ। यसको फाइदा कर्मचारी नेताहरूले लिने गर्छन्।’ २०६७ सालदेखि राष्ट्रिय स्तरका कर्मचारी संगठनको सिफारिसमा लियोजन अफिसर पठाउने व्यवस्था गरिएको छ। आधिकारिक टे«ड युनियनका पदाधिकारीहरूले पनि यसको फाइदा उठाउने गर्छन्। पर्यटन विभागले हरेक वर्ष लियोजन अफिसरको नाम पठाउन सबै मन्त्रालयसँग सिफारिस माग्छ। एउटा मन्त्रालयबाट सामान्यतया दुईजनाको नाम सिफारिस हुने गर्छ। स्रोत भन्छ, ‘दुईमध्ये एकजनाको नाम छनोट पहुँच र सोर्सफोर्सबाट हुने गर्छ। यसका लागि कर्मचारी नेताले नेता सकेसम्म आफैं जाने, नभए आफूनिकट मान्छेको नाम सिफारिस गर्ने गर्छन्।

हिमाल आरोहण गर्ने समूहले आरोहण गरेको/नगरेको प्रमाणित गर्ने अधिकार लियोजन अफिसरलाई हुन्छ। लियोजन अफिसरले हिमाल आरोहण गरेको प्रमाणित गरेपछि मात्र त्यो समूहले हिमाल आरोहण गरेको कानुनी पुष्टि हुन्छ। जसले हिमाल आरोहण गरेको भने प्रमाणित गर्छ, ऊ आफैंले भने हिमाल आरोहण गर्दैन। लियोजन अफिसर बिरामी भएको जानकारी गराएर एकदुई दिनमै काठमाडौं फर्कन्छ। वर्षमा दुई याम हिमाल आरोहण गर्ने गरिन्छ। चैत–वैशाखमा वसन्त आरोहण (स्प्रिङ सिजन) र असोज–कात्तिकमा शरद आरोहण (अटुमन सिजन) सुरु हुने गर्छ। अहिले वसन्त आरोहणको मौसम सुरु भएको छ। यो मौसमा पर्यटन विभागले ३८ समूहलाई हिमाल आरोहण गर्न अनुमति दिएको छ। जसमध्ये ३३ समूहले सगरमाथाका लागि अनुमति लिएका छन्। वसन्त ऋतुमा सगरमाथा, लोत्से, कञ्चनजंघा, अन्नपूर्णलगायत हिमालमा आरोहण हुन्छ भने शरद ऋतुमा मनास्लुलगायत हिमाल पर्छन्। एउटा समूहले हिमाल आरोणका लागि २० देखि ७५ दिनसम्म लगाउने गर्छन्। तर लियोजन अफिसर भने त्यति दिन बस्दैनन्।

कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियन (संघ) का वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी लियोजन अफिसर भई हिमलुङ हिमाल आरोहणमा हिँडेका छन्। आफू एक हप्ता उतै बसेको उनले टेलिफोनमा दाबी गरे। आधिकारिक टे«ड युनियनका अध्यक्ष पुण्य ढकाल र उपाध्यक्ष भोला पोखरेल पनि यस वर्ष लियोजन अफिसरका रूपमा हिमाल आरोहणमा जाँदै छन्। ढकाल र पोखरेल दुवैले आफू पहिलोपटक हिमाल आरोहणमा जाने इच्छा देखाएको बताए। दोहो¥याएर गएको प्रमाणित भए आफूले जागिरीबाटै राजीनामा दिने ढकाल र पोखरेल दुवैले बताए। ‘लियोजन अफिसरका रूपमा जाने इच्छा प्रकट गरेको मात्र हुँ। यसलाइ रद्द गर्न पनि सक्छु,’ पोखरेलले भने।

नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन निजामतीका महासचिव प्रभास साह पनि लियोजन अफिसरका रूपमा हिमाल आरोहणमा पुगेका छन्। यो अवसरबाट युनियन (संघ) का तत्कालीन सचिव जीवन आचार्य, वर्तमान सचिव नवराज जैसी, पूर्वसचिव टंकबहादुर मेहता, युनियनका पार्षद् पदम बुढाथोकीलगायत नेताहरूले पनि लिएका छन्। नेपाल निजामती कर्मचारी संगठनका निवर्तमान अध्यक्ष मोहन घिमिरेले पनि लियोजन अफिसर भई त्यसको फाइदा उठाएका छन्। पर्यटन मन्त्रालय र पर्यटन विभागमा कार्यरत कर्मचारीले हरेक वर्षमा एकपटक लियोजन अफिसरको सुविधा पाउने व्यवस्था छ। उक्त व्यवस्थाअनुसार आफू लियोजन अफिसर भई हिमाल आरोहणमा गएको उनले बताए। घिमिरे शरद ऋतुमा उनी अर्कोपटक लियोजन अफिसर हुँदै छन्। पर्यटन विभागका सूचना अधिकारी सुरेन्द्र थापाले हिमाल आरोहणका क्रममा लियोजन अफिसर बिरामी भए अथवा लेक लाग्यो भने बीच बाटाबाटै फर्कन सक्ने व्यवस्था रहेको बताए। ‘बाटोमै बिरामी भए के गर्ने ? फर्कनु त प¥यो नि !’ उनले भने, ‘बिरामी भएर कसरी हिमाल चढ्ने ?’

लियोजन अफिसर छनोट गर्ने सबै अधिकार पर्यटन विभागलाई हुन्छ। स्रोतका अनुसार यसमा विभागका उच्च कर्मचारीहरूले सकेसम्म आफूनिकट कर्मचारीको नाम सिफारिस गर्ने गर्छन्। तर हिमाल आरोहण सुरु नगर्दासम्म सम्बन्धित लियोजन अफिसरको नाम उनीहरूले सकेसम्म गोप्य राख्छन्। उनीहरू आफैं पनि चुचुरोसम्म पुग्दैनन्। लियोजन अफिसरले हिमाल आरोहणका लागि आठदिने तालिम लिनुपर्ने र डाक्टरबाट स्वस्थता प्रमाणित गर्नुपर्ने व्यवस्था छ। यसमा उमेरको हदबन्दी भने राखिएको छैन।

प्रकाशित: २१ वैशाख २०७६ ०१:४७ शनिबार

अख्तियार_दुरुपयोग_अनुसन्धान_आयोग हिमाल_आरोहण कर्मचारी नेता