राजनीति

‘नेकपा र कांग्रेस भारतको ट्रोजन हर्स’

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें रोहितले नेपाल कम्युनिष्ट पार्टी र कांग्रेसका नेताहरू भारतको ‘ट्रोजन हर्स’ भएको बताएका छन्। १३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा ख्वप कलेज भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै रोहितले देश विकासको लागि असल, इमानदार र देशभक्त राजनीतिक नेता तथा कार्यकर्ता आवश्यक भएको बताए।

‘अन्तर्राष्ट्रिय सन्धिसम्झौता र त्यसले पार्ने प्रभावबारे जानकारी नै नराखी सत्तासीन मन्त्रीप्रधानमन्त्रीले जथाभावी हस्ताक्षर गर्दा देशमा विदेशी हस्तक्षेप बढेको छ,’ उनले भने। उनले जनताको पीरमर्कालाई सम्बोधन गर्ने र अन्यायविरूद्ध लड्ने युवा पुस्ता तयार गर्न प्राध्यापकहरूले मेहनत गर्नुपर्नेमा जोड दिए। बुद्धिजीवीहरूले मजदुरकिसानलगायत कामगरी खाने वर्गको पक्षमा विचार सम्पे्रषण गरी मजदुर दिवस मनाउनुपर्ने उनको धारणा थियो।

कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधानको मर्म र भावनाअनुसार देश अगाडि बढ्न नसकेकोमा चिन्ता प्रकट गरे। सरकारले संघीयताको मान्यताविपरीत केन्द्रीकृत निर्णय लाद्नु गलत भएको बताउँदै उनले निजीकरणलाई जोड दिनु गलत भएको विचार व्यक्त गरे। विद्यालय सञ्चालक समितिका उपाध्यक्ष एवम् भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले शिक्षाका माध्यमबाट देशलाई अगाडि बढाउने लक्ष्यअनुसार भक्तपुर नगरपालिकाले सात शैक्षिक संस्था सञ्चालन गरेर देशकै सेवा गरिरहेको बताइन्।

कार्यक्रममा ख्वप कलेजका प्राचार्य रूपक जोशी, ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठ, ख्वप बहुप्राविधिक अध्ययन संस्थानका प्राचार्य डा. रत्नसुन्दर लासिवा, ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य इ. सुजन माक र ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य सुनिल दुवालले आआफना धारणा राखेका थिए।

प्रकाशित: १९ वैशाख २०७६ ०३:२८ बिहीबार

नेपाल_मजदुर_किसान ट्रोजन_हर्स नेकपा नेपाली_कांग्रेस