राजनीति

प्रदेश १ को नाम किरात नराखिए आन्दोलन गर्छौं : यायोक्खा

खोटाङ – किरात राई यायोक्खा केन्द्रीय समितिले १ नम्बर प्रदेशको नाम किरात राख्न आग्रह गरेको छ। यस अघिदेखि नै प्रदेश १को नाम किरात हुनुपर्ने पक्षमा दबाबमूलक गतिविधि गर्दै आएको यायोक्खाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर प्रदेशको नाम किरात राखिनुपर्ने माग दोहो-याएको हो।

प्रदेशको नाम र स्थायी राजधानीबारे बिहीबार प्रस्ताव दर्ता हुने तयारी भइरहेका समयमा यायोक्खाले प्रदेशको नाम किरात नराखे आन्दोलन गर्ने चेतावनी दिएको छ।

प्रदेशसभामा ‘किरात’ प्रदेश नाम प्रस्ताव दर्ता हुने बताउँदै यायोक्खाका अध्यक्ष दिवस राईले प्रस्तावमा समर्थन गर्न प्रदेशका सांसदहरुलाई आग्रह गरेका छन्। यायोक्खाकातर्फबाट प्रदेशका सांसदलाई दैनिक एसएमएस अभियान चलाइएको यायोक्खाका सचिव अर्जुन जम्नेली राईले बताए।

‘किरात कुनै जाति होइन,’ यायोक्खाको विज्ञाप्तिमा भनिएको छ, ‘किरात इतिहास, भूगोल, सभ्यता, कला, संस्कृति वा जीवनपद्धति हो।’ प्रदेशको नाम किरात नराखिए शान्ति सिर्जना हुने र नदी वा हिमालको मात्र नाम राखिए विद्रोही शक्तिलाई बल पुग्ने यायोक्खाको विज्ञप्तिमा भनिएको छ। प्रदेशको नाम किरात नराखिए त्यसबाट निम्तिने गम्भीर परिस्थितिको जिम्मा प्रदेश सरकार, सांसद र दलका नेताले लिनुपर्ने चेतावनी दिइएको छ।

‘किरात’ प्रदेश नामकरणका लागि २५ लाख हस्ताक्षर संकलन गरेर प्रदेश सरकारलाई बुझाइसकेको यायोक्खाले दलका शीर्ष नेतृत्वदेखि प्रधानमन्त्री केपी ओलीसम्मलाई सहजीकरणका लागि आग्रह गरिसकेको छ।

प्रकाशित: १८ वैशाख २०७६ १४:२३ बुधबार

किरात किरात_प्रदेश यायोक्खा एसएमएस_अभियान