राजनीति

संसदमा झाको हिन्दीमा सम्बोधनः ‘३४ हजारको नागरिकता खारेज गर्दा राष्ट्रियता कमजोर हुन्छ’

काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सांसद अनिल झाले देशभित्रका नागरिकलाई नागरिकताविहीन बनाउँदा राष्ट्रियता कमजोर हुने बताएका छन्। 

सोमबारदेखि सुरु भएको संघीय संसदको चौथो अधिवेशनलाई हिन्दी भाषामा सम्बोधन गर्दै झाले नागरिकता पाएका व्यक्तिलाई राज्यविहीन र अनागरिक बनाउँदा राष्ट्रियता कमजोर हुने जिकिर गरे। 

‘२०५४ सालमा जितेन्द्र देवको नेतृत्वको आयोगले ३४ हजार ९० मानिसलाई नागरिकता वितरण गरेको थियो। अहिले सर्वाेच्च अदालतबाट खारेज गरियो। यसबाट नागरिकलाई अनागरिक बनाउन खोजियो। नागरिकलाई राज्यविहीन र अनागरिक नबनाउ’, उनले भने, ‘होइन भने राष्ट्रियता कमजोर हुन्छ। सरकारको समृद्धि, विकासमा पनि बाधा पुग्छ।’ 

झाले मधेसको शक्तिलाई आन्दोलनमा जान बाध्य पार्ने तथा सांसद (रेशम चौधरी)लाई जेल पठाएर शान्ति कायम नहुने बताए। ‘शान्तिका लागि एजेण्डा सम्बोधन हुनुपर्छ। एजेण्डा सम्बोधन नभए शान्ति कसरी आउँछ। शान्ति नभए विकास कसरी गर्ने? समृद्धि कसरी आउँछ? त्यसकारण मधेसका एजेण्डा सम्बोधन गरौं, संविधान संशोधन गरौं’, उनले भने।  

झाले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे। विगतमा दोस्रो अधिवेशनमा बारम्बार आवाज उठाएको, रोष्टम घेरेको स्मरण गर्दै झाले सरकारले आश्वासन दिएर आफूहरुलाई उपेक्षा गरेको आरोप लगाए। ‘सरकार हामीलाई उपेक्षा गरेर आन्दोलन गर्न बाध्य पारिरहेको छ, सडकमा जान प्रेरित रहेको छ’, उनले भने, ‘लामो समयसम्म संसदबाट माग गरिरहन सक्दैनौं, सडकमा जान बाध्य पारिँदैछ।’

झाले पराजुली आयोगको प्रतिवेदन पनि सार्वजनिक नगरिएको भन्दै सरकारको ध्यानाकर्षण गराए। ‘सरकारले बलात्कारी, महंगी नियन्त्रणमा कुनै काम गर्न सकेन’, उनले भने। 

प्रकाशित: १६ वैशाख २०७६ ११:४६ सोमबार

संघीय_संसद अनिल_झा नागरिकता राष्ट्रियता