राजनीति

कांग्रेस नेतृत्वलाई जनताले विश्वास गरेनन् : नेता सिंह

संखुवासभा– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेतृत्वलाई जनताले विश्वास नगर्दा कांग्रेसले पराजय भोग्नुपरेको दाबी गरेका छन्। 

संखुवासभामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले जनता र मुलुकको हितमा काम गर्दा गर्दै कांग्रेस हार्नुले नेतृत्वप्रतिको अविश्वास दर्शाएको बताए। ‘जनता कांग्रेसको पक्षमा छन्।

जनताले कांग्रेस राम्रो होस् भन्ने अहिले पनि चाहिरहेका छन्। तर नेतृत्व विधिविधानअनुसार चल्न सकेन’, उनले भने, ‘नेतृत्वले भेदभावपूर्ण व्यवहार गर्यो। कार्यकर्ताको कामको मूल्यांकन गर्न सकेन।’

हारपछि पनि अहिलेसम्म कार्यकर्तामा ऊर्जा भर्न नसकिएको उनले बताए। उनले पार्टीभित्र आन्तरिक सुदृढिकरणको विकल्प नभएको समेत बताए। नेता सिंहले पार्टी नेतृत्वले विधानअनुसार चल्नै पर्ने तर्क राखे। ‘अब हामीले एकअर्काबीचको मनमुटाव छाडेर एक ढिक्का हुनुको विकल्प छैन’, उनले भने, ‘अब हामी संगठन निर्माणमा जुट्नुपर्छ।’ 

नेता सिंहले वर्तामान सरकार स्वच्छाचारी ढंगले चलेका कारण अब सडकदेखि सदनसम्म चर्काउन कांग्रेस पछि पर्न नहुने धारणा राखे। उनले लोकतन्त्रको रक्षा कांग्रेसले मात्र गर्न सक्ने बताए।

 

प्रकाशित: १५ वैशाख २०७६ ०७:१५ आइतबार

नेपाली_कांग्रेस प्रकाशमान_सिंह