राजनीति

३८ बुँदे विज्ञप्ति जारी गर्दै बीआरआई शिखर मञ्च सम्पन्न

बेइजिङ - चीनले आयोजना गरेको दोस्रो बीआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च ३८ बुँदे संयुक्त विज्ञप्ति जारी गर्दै सम्पन्न भएको छ। मञ्चले विश्व अर्थतन्त्रमा ऊर्जा थप्ने अनुमान गरिएको छ। विज्ञप्तिमा मञ्चमा सहभागी नेताहरूले बीआरआई प्रस्ताव तथा अन्य सहयोगात्मक रणनीतिलगायत साझेदारी सम्बन्धमार्फत उपक्षेत्रीय, क्षेत्रीय र विश्वको तहमा अन्तर्राष्ट्रिय सहकार्यलाई सबल पार्ने कुरामा प्रतिबद्धता जाहेर गरेका छन्। उनीहरूले साझा समृद्धि तथा सुमधुर भविष्य सिर्जना गर्ने अठोट पनि व्यक्त गरेका छन्। यसबाहेक, नियमितरूपमा शिखर मञ्च र सम्बद्ध गतिविधिको आयोजना गर्ने भन्दै फेरि दुई वर्षपछि यस्तै प्रकारको शिखर मञ्चको आयोजना हुने पनि बताइएको छ।

दुई वर्षअघि सन् २०१७ मेमा आयोजित पहिलो शिखर मञ्चको दाँजोमा यो शिखर मञ्चमा २ सय ८३ सम्झौता भएका छन्। ती सम्झौताको कुल रकम ६४ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको छ। बीआरआईमा रहेर सहयोगात्मक परियोजना सञ्चालन गर्न विभिन्न देशसँग सम्झौता भएका हुन्। आफूले थालनी गरे पनि अब बीआरआई विश्वको साझा भइसकेको चीनले बताउँदै आएको छ। सम्झौताले पनि यो कुरा पुष्टि गरेका छन्। दिनप्रतिदिन देश र जनता बीआरआईमा रहेर आपसी सम्पर्क राख्ने, पारस्परिक विचार विमर्श गर्ने र सँगसँगै विकास र समृद्धि गर्दै सहयोगात्मक साझेदार बन्दै जाने कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ।

बीआरआईले विकासको परिस्थिति र ऐतिहासिक प्रवाहसँग अनुकूल गराउनुका साथै गतिरोधलाई क्रमशः अन्त्य गरेर विकासको सिर्जना गर्ने कुरा पनि विज्ञप्तिमा समेटिएको छ। खुलस्त विश्व अर्थतन्त्रबाट मात्रै विभिन्न मुलुकका जनताका लागि हित हुनसक्ने कुरालाई स्पष्टसँग विश्वसामु राखेको विज्ञप्तिमा उल्लेख छ। मानवजातिको भाग्य एकरूपता स्थापना गर्ने बाटोमा विभिन्न मुलुकका जनताले बीआरआईमार्फत हात मिलाएर सुमधुर मैत्री सम्बन्ध सिर्जना गर्दै विकासको बाटोमा लम्किने कुरालाई विज्ञप्तिले आफ्नो सम्पति मानेको छ।

प्रकाशित: १५ वैशाख २०७६ ०२:३० आइतबार

बीआरआई शिखर_मञ्च संयुक्त_विज्ञप्ति अर्थतन्त्र