राजनीति

रिक्त दरबन्दी विवरण पठाउन निर्देशन

काठमाडौं – सरकारले कर्मचारी समायोजनपश्चात रिक्त दरबन्दीको विवरण पठाउन स्थानीय तहहरूलाई निर्देशन दिएको छ। कर्मचारी समायोजनसँगै स्थानीय तहमा ठूलो संख्यामा कर्मचारी अपुग भएपछि रिक्त दरबन्दीमा पदपूर्ति प्रक्रिया अघि बढाउन सरकारले स्थानीय तहसँग विवरण मागेको हो।

मन्त्रालयले बुधबार देशभरका स्थानीय तहलाई पत्र लेख्दै यथाशीघ्र रिक्त दरबन्दीको विवरण पठाउन भनेको छ। मन्त्रालयले लेखेको पत्रमा विगतमा विवरण पठाएका स्थानीय तहको हकमा पनि तोकिएको ढाँचामा विवरण पठाउन भनिएको छ।

सोअनुसार अब स्थानीय तहहरूले दरबन्दी रहेका पद, तह, सेवा, समुह, उपसमुह, स्वीकृत दरबन्दी, साविक स्थानीय तहबाट समायोजन, निजामती सेवाबाट समायोजन, जिल्ला समन्वय समितिबाट समायोजन, अन्य सेवाबाट समायोजन, रिक्त पदसंख्या, पदपूर्तिका लागि अनुरोध गरिएको संख्यासमेत खुलाई मन्त्रालयमा पठाउनुपर्नेछ। विवरण पठाउँदा स्थानीय तहले प्रदेश, जिल्ला, स्थानीय तह खुलाई स्थानीय तहको अध्यक्ष वा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबाट प्रमाणीकरणसमेत गराउनुपर्नेछ।

निजामती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तहमा समायोजन गर्दा स्थानीय तहमा ठूलो मात्रामा कर्मचारी अभाव देखिएपछि अब फास्ट ट्र्याकबाट कर्मचारी पदपूर्तिको प्रक्रिया अघि बढाउन लोकसेवा आयोगलाई आग्रह गरिने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बताउँदै आएको छ।

प्रकाशित: १३ वैशाख २०७६ ०३:०० शुक्रबार

कर्मचारी_समायोजन रिक्त_दरबन्दी विवरण