राजनीति

रुपन्देही सचिव न्यापानेले भने, – ‘मर्यादाक्रम मिलेन राजीनामा दिएँ

रुपन्देही - नेकपाको रुपन्देही सचिवमा मनोनीत दधिराम शर्मा न्यौपानेले पदबाट राजीनामा दिएका छन्। 

प्रदेश ५ का सांसद रहेका न्यौपानेले पूर्वमाओवादी पोलिटब्यूरो सदस्य र एकतापछिको केन्द्रीय सदस्य भइसकेकाले सचिवमा बस्न नमिल्ने बताउँदै आएका थिए। उनले मंगलबार इमेलमार्फत केन्द्रीय समिति र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई सचिव पदबाट राजीनामा दिएका हुन्। तर उनले यसलाई सहमतीय राजीनामा भनेर व्याख्या गरेका छन्।

‘म असन्तुष्ट भएर राजीनामा दिएको होइन, सैद्धान्तिक रुपमा पूर्वएमाले र पूर्वमाओवादीका जिल्ला अध्यक्ष र संयोजकको आधारको विधि बनाउँदा प्राविधिक रुपमा सचिव भएको थिएँ, सहमतिअनुसार मैलै राजीनामा दिएपछि अब कुरा मिल्छ’, उनले नागरिकलाई भने। उनले प्राविधिक कारणले आफू सचिव पदमा परेको तर मर्यादाक्रमले नमिल्ने भएकाले सचिव पदमा नहरने जानकारी गराएको बताए।

प्रदेश ५ को अर्थ, उद्योग पर्यटन समितिका सभापतिको भूमिकामा रहेका न्यौपाने पूर्वमाओवादीका तर्फबाट यहाँका प्रभावशाली नेता मानिन्छन्। तर सोमबार केन्द्रीय नेतृत्वले घोषणा गरेको जिल्ला समितिमा भने न्यौपाने सचिव र बुटवल उपमहानगरपालिकाका मेयर एवं पार्टी प्रदेश सदस्य शिवराज सुवेदी अध्यक्षमा मनोनित भएका थिए।

उनले यो निर्णय आएसँगै सचिवमा आफू नहरने बताउँदै आएका थिए। पूर्वमाओवादीको जिल्ला संयोजक भएकाले आफ्नो नाम आएको उनको तर्क छ। ‘मसहित ६ जना साथीहरुको समस्या आएको हो, अब मिल्छ’, उनले भने। उनी असन्तुष्ट भए पनि यसलाई प्राविधिक त्रुटि भन्दै आएका थिए।

प्रकाशित: ११ वैशाख २०७६ १३:२८ बुधबार

नेकपा_एकता राजीनामा दधिराम_शर्मा_न्यौपाने रुपन्देही_सचिव