राजनीति

सचिव पद हटाएर सहअध्यक्ष बनाउने तयारीमा नेकपा

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तल्लो कमिटी एकताको घोषणा सोमबार (आज) गर्दैछ। कम्युनिष्ट पार्टीको ७० औं स्थापना दिवसको अवसरमा तल्लो कमिटी एकता घोषणा गर्न लागेको हो।

एक स्थायी कमिटी सदस्यले नागरिकलाई दिएको जानकारी अनुसार नेकपाले अहिले जिल्ला कमिटीमा सचिव पद हटाउने तयारी गरिरहेको छ। ‘नेकपाले सचिव पद हटाएर सहअध्यक्ष बनाउनका लागि छलफल भइरहेको छ’ ति सदस्यले नागरिकसँग भने। पूर्वएमालेले अध्यक्ष पाएको जिल्लामा पूर्वमाओवादी केन्द्रले सहअध्यक्ष र पूर्वमाओवादी केन्द्रले अध्यक्ष पाएको जिल्लामा पूर्वएमालेले सहअध्यक्ष बनाउनेबारे छलफल भइरहेको छ। पूर्वएमालेभित्र अध्यक्षलाई घटुवा गरेर सचिव बनाउन नहुने भन्दै चर्को विरोध आएपछि सहअध्यक्ष बनाउने तयारी गरेको सचिवालयका एक नेताले नागरिकलाई बताए।

पार्टी एकता भएको ११ महिनापछि नेकपाले बल्ल तल्लो कमिटी एकता प्रक्रिया टुंग्याउने भएको छ। हिजो (आइतबार) साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले नेकपाको ७७ वटै जिल्लाको अध्यक्ष र सहअध्यक्षको टुंगो लगाएको थियो। सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, इश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल सहभागी थिए।

प्रकाशित: ९ वैशाख २०७६ ०५:२९ सोमबार

नेपाल_कम्युनिष्ट_पार्टी एकता