राजनीति

दाहालले भने ‘ढुक्क हुनुस् भोलि तल्लाे तहकाे पार्टी एकता टुंगिन्छ’

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भोलि तल्लो तहको पार्टी घोषणा हुने बताएका छन्। आइतबार ३ नम्बर प्रदेश संगठन कमिटीले आयोजना गरेको ७० औं कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा बोल्दै दाहालले भोलि जसरी पनि एकताको घोषणा हुने बताएका हुन्। यसअघि २२ अप्रिल अर्थात बैशाख ९ गते तल्लो तह एकता गर्ने बताइएको थियो।

‘हामिले नीतिगत निर्णय गरिसक्यौं’ दाहालले भने ‘भोलि घोषणा तयारीका लागि आज दिनभर दुइ जना साथीहरु खटाएका छौं।’ ‘हामीले चुनाव लगत्तै पार्टी एकता गर्छौ भनेका थियौं, त्यो पनि केहि ढिला हुन गएको थियो’ दाहालले भने ‘तल्लो कमिटीको एकता पनि केहि ढिला हुन गयो, अब चिन्ता नलिनुस् भोलि जसरी पनि एकता घोषणा हुन्छ।’
राजनीतिक प्रतिवेदन पनि अब छिट्टै छापिने दाहालले बताए। दाहालका अनुसार विघठित चौथो कार्यदलका ९ सदस्यमध्ये ५ सदस्यहरुले दिएको सुझाव पनि विधानमा समेटिएको बताएका छन्। भोलि एकताका लागि आज साँझ केन्द्रीय सचिवालयको बैठक बोलाइएको दाहालले बताए।
२६ जनालाई सम्मान
कम्युनिष्ट आन्दोलनलाई सघाउने २६ जनालाई नेकपा प्रदेश नम्बर ३ ले सम्मान गरेको छ। जसमा ३ नम्बर प्रदेशका १३ जिल्लाबाट २÷२ जनालाई सम्मान गरिएको हो। सम्मान हुनेहरुमा चितवनबाट खम्बा सिंह कुँवर र ज्ञानु थापा, मकवानपुरबाट बालकुमारी थापा र गोविन्दबहादुर श्रेष्ठ, काभ्रेबाट गोविन्दनाथ उप्रेति र तुलसीमाया कथिला, ललितपुरबाट तेजकुमारी घिमिरे र रत्नमान तुलाधार, भक्तपुरबाट विष्णुलाल श्रेष्ठ, काठमाडौंबाट बेलीबहादुर थापा र नानीमैया नकर्मी, नुवाकोटबाट फत्तप्रसाद मैनाली र टीकादेवी पुडासैनी, रसुवाबाट तुलसीदेवी घिमिरे र पेमादोर्जे तामाङ, धादिङबाट  सुनमाया थापामगर र रनबहादुर थापामगर, सिन्धुलीबाट सितादेवी दाहाल र कृष्णहरी अधिकारी, सिन्धुपाल्चोकबाट माधवलाल कर्माचार्य र जयराम पराजुली, रामेछापबाट चर्तुमान राय  विर्खबहादुर दाहाल, दोलखाबाट मनमाया खड्का रहेका छन्। उनीहरुलाई खादा र सम्मानपत्र ओढाएर दाहालले सम्मान गरेका थिए।

 

प्रकाशित: ८ वैशाख २०७६ ०७:२० आइतबार

नेकपा पुष्पकमल_दाहाल एकता