राजनीति

स्थायी राजधानी तत्काल तोक्न माग

मकवानपुर - प्रदेश ३ का सांसदहरूले स्थायी राजधानी छिटो टुंग्याउनुपर्नेमा जोड दिएका छन्। बिहीबार बसेको प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै सांसदहरू लक्ष्मण लम्साल, सुरेन्द्रराज गोसाई, रत्न ढकाल, प्रदीपकुमार कटुवाल, केसी क्षत्रीलगायतले स्थायी राजधानी चाँडै टुंगो लगाउनुपर्ने माग गरे। २९ जना प्रदेश सांसदले समसमायिक विषयमा बोल्दै प्रदेशको स्थायी राजधानीसँगै प्रभावकारी बजेट कार्यान्वयन, लैंगिक बजेट मागदेखि मुख्यमन्त्री डोरमणि पौडेलका स्वकीय सचिवको हिनामिनासम्मको विषय उठाएका थिए।

नेपाली कांग्रेसका सांसद न्हँुच्छेनारायण श्रेष्ठले मुख्यमन्त्री पौडेलले भ्रष्टाचारप्रति शून्य सहनशिलताको प्रतिबद्धता जनाए पनि उनकै स्वकीय सचिव अनुप पौडेल संलग्न गैरसरकारी संस्थाले अनियमितता गरेको समाचार बाहिर आएको भन्दै आलोचना गरे। ‘चेपाङ बाहुल्य क्षेत्रमा विद्यालय बनाउने नाममा भएको अनियमिताको सत्यतथ्य बाहिर ल्याउन म माग गर्छु,’ सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका श्रेष्ठले भने।

अस्थायी राजधानीको मानसिकता सरकारमा पनि रहेको भन्दै विकासमा समेत यस्तै मानसिकताले काम गरेको दाबी गरे। विकासको आशमा जनता रहने तर विकास बजेट समेत खर्च नहुने अवस्थाको अन्त्य गर्न यथाशिघ्र बजेट कार्यान्वयनका लागि ठोस पहल गर्न सरकारलाई आग्रह समेत गरे।

कांग्रेसकै अर्का सांसद विजया श्रेष्ठ केसीले प्रदेश सरकारले जथाभावी विभिन्न पुस्तक प्रकाशन गरिरहेको भन्दै मितव्ययीताका लागि ई–लाइब्रेरीको व्यवस्था गर्नुपर्ने बताइन्। विवेकशील नेपालीका सांसद रमेश पौड्यालले ललिता निवासको जग्गा खरिद गर्ने भूमाफियालाई क्षतिपूर्ति दिनुपर्ने भन्दै व्यङ्ग्य गरे। ‘भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता भन्ने संघीय सरकारले भू–माफियालाई उल्टै सम्मान गरेको छ,’ उनले भने, ‘भ्रष्टाचारविरोधी हुँ भन्ने प्रदेश सरकारले चुइँक्क बोल्ने हिम्मतसमेत गरेन।’

प्रदेश सांसद रजनी अमात्य जोन्छेले भक्तपुरमा खानेपानीको समस्या समाधान गर्न र बाहिरी चक्रपथको नक्सा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराइन्। अर्का सांसद राधा घलेले प्रदेशसभामा संघीय सरकारका गतिविधिबारे उठेका प्रश्नको रेकर्ड संघीय सरकारलाई उपलब्ध गराउने व्यवस्था मिलाउन र मन्त्रीहट्टको जवाफ दिने शैली सुधार्नुपर्नेमा जोड दिइन्। प्रदेशसभाको अर्को बैठक अनिश्चितकालका लागि स्थगित गरिएको सभामुख सानुकुमार श्रेष्ठले बताए।

२ वटा विधेयक पारित
यसैबीच, बिहीबार बसेको प्रदेशसभा बैठकले २ वटा विधेयक पारित गरेको छ। एउटा विधेयक सर्वसम्मत र अर्को विधेयक बहुमतले पारित गरेको हो। बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावा दोर्जे लामाले प्रस्तुत गरेको प्रदेश सरकारीसम्बन्धी विधेयक बहुमतले पारित गरेको छ। त्यस्तै, प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले प्रस्तुत गरेको प्रदेशका पदाधिकारी तथा सदस्यको सेवासुविधासम्बन्धी ऐनको पहिलो संशोधन विधेयक सर्वसम्मत पारित भएको हो। मन्त्री लामाले पेस गरेको विधेयक प्रदेशसभा नियमावलीविपरित रहेको भन्दै विवेकशील नेपालीका सांसद रमेश पौड्याल र विराजभक्त श्रेष्ठले भने विपक्षमा मतदान गरेका थिए।

प्रकाशित: ६ वैशाख २०७६ ०३:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App